वडा अधिवेशन विधि, प्रक्रिया, मापदण्ड विपरीत भएकाे पौडेल पक्षको दावी


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेलधुरा लगायत देशका विभिन्न जिल्लाहरुको वडा अधिवेशन विधि, प्रक्रिया, मापदण्ड विपरित अलोकतान्त्रिक ढंगबाट भइरहेको भन्दै आपत्ति जनाएको छ । गत भदौ १८ गतेदेखि देशैभरका जिल्लाहरुमा वडा अधिवेशन सुरु भएसँगै काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन औपचारिकरुपमा प्रारम्भ भएको थियो । तर क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुट्न नसक्दा २० जिल्लाहरुको वडा अधिवेशन असोज ५ गतेका लागि सारिएको छ ।

काँग्रेस वरिष्ठ नेता पौडेल पक्षले सोमबार पत्रकार सम्मलेन गरी क्रियाशील सदस्यता वितरणमा डडेलधुरा लगायतका अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्ड विपरीत फर्जी नाम समावेश गर्ने, प्रक्रियासम्मत तलैबाट आएका नामहरु केन्द्रबाटै थपघट एवम् हेरफेर गर्ने र क्रियाशील सदस्यता समाधान नै नगरी नेताहरुको सहमति र संलग्नता बेगरनै प्रहरी प्रशासनकाे आडमा वडा अधिवेशन भयो भनिनु अराजकता र मनपरीतन्त्र साथै यसैक्रममा डडेलधुरा मात्र होइन सुनसरी लगायतका मुलुका अन्य कतिपय ठाउँमा समेत सत्ता र शक्तिको चरम दुरुपयोग भएका खबरहरु आइरहेका छन्, पौडेल पक्षले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विशेषगरी प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सभापति र कार्यसमिती कै सहभागीता र सहमतिलाई निषेध गरिएको भन्दै यसखाले अधिवेशन अमान्य रहको भन्दै र यी जिल्लाहरुमा यथाशिघ्र विधि र प्रक्रिया अनुरुप नेतृत्व चयनको लागि पुनः निर्वाचनको माग समेत पौडेल पक्षले राखेको छ । यो समाचार गोरखापत्र अनलाईनमा छापिएको छ ।


प्रकाशित : २०७८ भाद्र २९, मंगलवार ०९:३९ गते

धेरै पढिएको

ताजा समाचार