एसएमजी’ हतियार चोरेको अभियोग लागेका दुई सैनिकलाई सफाई- तीन वर्ष बढुवा रोक्का


नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार ‘एसएमजी’ चोरेको आरोप लागेका दुईजना सैनिकले सफाइ पाएका छन् । ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गले सफाइ पाएको अधिवक्ता सोमनाथ ढुंगानाले बताए ।  तर उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको सैनिक स्रोतले बतायो ।

उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष रहेको भनेको त छ । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ बढुवा रोक्काको आदेश दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि बल्ल सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो ।


प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १७:३० गते

धेरै पढिएको

ताजा समाचार