सुरक्षाका लागि जोडिएका बुटवलका सिसिटिभि ३ महिनादेखि बन्द


बुटवल । प्रदेशको सडक सुरक्षा तथा आपराधिक क्रियाकलपहरुको रोकथाम तथा अध्ययन अनुसन्धानका लागि सहज गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले जडान गरका सीसीटिभी क्यामेरा बन्द भएका छन् ।

विगत ३ महिनादेखि बुटवलमा जडान गरिएका एक दर्जन सिसिटिभी क्यामेराले काम गरेका छैनन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रयले डेढ वर्षअघि सिसिटिभी जडान गरी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ ओटा सिसिटीभी क्यामेरा जडान गरेको थियो । २ करोड ५९ लाख ९३ हजार लागतमा ११ जिल्लाका बिभिन्न शहरहरुमा सिसिटिभी क्यामेरा जोडिएका छन् ।

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म ६ लेन सडक विस्तारको काम चलिरहेका बेला विद्युत लाईन काटिएका कारण बन्द भएका हुन् । बुटवलको गोलपार्क, विद्युत चोक, हस्पिटल लाइन, भुड्की चोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड र तिनाउ पुल पारीसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलको कन्ट्रोल रुपमा कैद हुने गरी जडान गरिए पनि अहिले बन्द अवस्थामा छ ।

यसै बीच बुटवलमा जडान गरिएका १२ वटै सिसिटिभी बन्द भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लिनारायण पाण्डेले जानकारी दिए ।


प्रकाशित : २०७८ असार २२, मंगलवार १५:३२ गते

धेरै पढिएको

ताजा समाचार