पर्सामा तल्लो जातसँग लागेको शंकामा आमाले गरिन् छोरीको हत्या


२७ पुस, वीरगञ्ज । ०७७ कात्तिक २९ गते लक्ष्मीपूजाको दिन पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आगलागी हुँदा आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको खबर आएको थियो। प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरेका थिए।

तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा-बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुल्नमा आएको छ।

छोरीको निदाएकै अवस्थामा जलेर मरेको भन्ने दाबी परिवारजनले गरेपनि घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका गरे । घटना शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए।

पहिला भित्र मानिस छ भनेर कसैले नभनेकाले आगो निभाउन मात्रै केन्द्रित भएको र पछि भित्र शव भेटिएको खबर आउँदा घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको देखिएको र खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिएकाले घटना शंकास्पद लागेको थियो।

छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बढ्दै गयो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको छ।

मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।

लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँग मिलेर छोरीको हत्या गरेको स्वीकारेकी छिन् । कक्षा ९ मा पढ्ने छोरी नगिना र उनलाई होम ट्युसन पढाउने शिक्षक रामबाबु चमारलेको छोरीसँग केही न केही सम्बन्ध छ भन्ने शङ्का लागेको हुनाले छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने हुन्छ भनेर आगो लगाएर छोरीलाई मारिन् ।

उनले छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो लगाएर आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको आमा लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् । बुहारी मनिषादेवीले आगो निभाउन बाँसको भाटाले टाउकोमा हानेर आगो निभाउन नदिएको लालमतीले बताएकी छन् । पछि छिमेकीअरु जम्मा भएर आगो निभाएका थिए ।

पहिला विष खुवाएर मारेको हो वा सीधै जलाएको हो भन्ने स्पष्ट हुन सकेको छैन । पोष्टमार्टम गर्दा भिसेरा निकालेर परीक्षण गर्नुपर्नेमा चिकित्सकले त्यसो नगरेका कारण अनुसन्धान कमजोर बनेको प्रहरी स्रोतले जनाएको छ ।

लालमतीका श्रीमान फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।


प्रकाशित : २०७७ पुष २७, सोमबार ११:०० गते

धेरै पढिएको

ताजा समाचार