पुलमा क्षति पुगेकाले तातोपानी नाका फेरि बन्द गर्ने चीनको तयारी


२४ पुष। नेपाल चीन बिचको प्रमुख तातोपानी नाका आउँदो २० जनवरीदेखि फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको जनाइएको छ।

भोटेकोशी नदिमा बर्खाको बाढीका कारण पुलको जगमा दायाँबायाँ क्षति पुगेकाले पुल मर्मत नगरे दुर्घटना हुने सम्भावना भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ। पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ ।

यो जानकारी भने तातोपानी भन्सारलाई अझै आधिकारिक खबर आएको छैन। तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुनेबारे आधिकारिक खबर नपाएको बताएका छन्। दुई देशबीचको सीमाक्षेत्र भएकाले आफुहरुसंग पनि छलफल गरेर मर्मत गर्नुपर्ने खत्रीको बताएका छन्।

वर्ष दिनदेखि खासा र न्यालम क्षेत्रमा थुप्रिएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना भएको जनाइएको छ।


प्रकाशित : २०७७ पुष २४, शुक्रबार १७:०४ गते

धेरै पढिएको

ताजा समाचार