अमेरिकी संसद्‌मा जो बाइडनको जित प्रमाणित; ट्रम्पले ज्यानुअरी २० मा शान्तिपूर्ण हस्तान्तरण दिने


२२ पुस। अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्‌ले प्रमाणित गरेपछि अब बाइडन ज्यानुअरी २० मा शपथग्रहण गर्ने भएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो।

इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ।

इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो।

संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै ‘ज्यानुअरी २० मा शान्तिपूर्ण हस्तान्तरण’ हुने बताए पनि निर्वाचनमा धाँधली भएको दाबी गर्दै आफ्नो ट्विटरमा हालेका छन्। ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ।

 


प्रकाशित : २०७७ पुष २३, बिहीबार १५:५१ गते

धेरै पढिएको

ताजा समाचार