किशोरीलाई जागिरको प्रलोभन देखाएर वेचविखन हुने क्रम बढ्दै; भारत लैजाने क्रममा तीन किशोरीको उद्धार


२३ पुस, इलाम। भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

गाडीमा भारत लैजान लाग्दा सोधपुछ गर्दा जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको र भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको छ।

उद्धार गरिएका तीनैजना किशोरीलाई उनीहरुको परिवार बोलाएर जिम्मा लगाइएको छ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रका चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको छ।

गत मङ्सिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका ६ बालक र ४ बालिकालाई भारततर्फ लैजाने क्रममा उद्धार गरिएको थियो।


प्रकाशित : २०७७ पुष २३, बिहीबार १२:१५ गते

धेरै पढिएको

ताजा समाचार