हार स्वीकार्न नसकेका ट्रम्पले गराए संसद भवनमै आक्रमण; वासिंगटनमा कर्फ्यू :४ जनाको मृत्यु


२३ पुष। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् ।
ट्रम्पले आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
१३ जना हतियारधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ । त्यसक्रममा ४ जना मारिएका छन् ।

राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न लागेकै बेला ट्रम्पका हतियारधारी जमातले संसद भवन परिसरमा प्रदर्शन र आक्रमण थालेका थिए ।

हतियारधारी ट्रम्पका समर्थकहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे । ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गर्दै आफ्ना समर्थकलाई घर फर्किन आग्रह गरेका छन् भने सभामुख पेलोसीले बुधबार राति संसद चल्ने प्रष्ट गरेकी छन्।

झण्डै तीन घण्टा हतियारधारी ट्रम्प समर्थकले संसद भवन नियन्त्रणमा लिँदा सदनको कार्यक्रमसमेत केही समय रोकिएको थियो र सुरक्षाकर्मीले सांसदहरुलाई भवनबाट निकाल्नु परेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको हर्कतलाई विद्रोही गतिविधिको संज्ञा दिएका छन्।


प्रकाशित : २०७७ पुष २३, बिहीबार १०:२५ गते

धेरै पढिएको

ताजा समाचार