महोत्तरी जिल्ला लगायत प्रदेश नं २ का अधिकांश जिल्लाका किसानहरु धमाधम उखुखेती छाड्दै


२२ पुस,वीरगञ्ज । उखुको उधारो कारोवार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण किसानहरुले धमाधम उखुखेती छाड्दै आएका छन्।

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा गरेको उखुखेती यसपाली एक बिघामा मात्र गरेका छन्। उत्पादन गरेको उखुको भुक्तानी हालसम्म नपाउँदा उनले उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा भएको बताएका छन्।

किसान हीरालाल महतो मात्र नभएर त्यहाँका अर्का किसान धनेसी महतोको पनि यस्तै पीडा रहेको छ। उनले ऋण काढेर गरेको उखुखेतीको मिलले समयमा रकम भुक्तानी नदिँदा ऋणमा डुब्ने डरले यसपालीदेखि उखुखेती गर्न छोडेको बताएका छन्। त्यस्तै महोत्तरी भङ्गाहाकै अर्का किसान सूर्यदेव मुखियाले पनि वर्षौदेखि गर्दै आएको उखुखेती मासेर यसपाली डेढ बिघा क्षेत्रफलमा गँहुखेती गरेका छन्।

नगदेबालीको उधारो कारोवारले आजित भएका यहाँका उखुखेती गर्ने किसानहरुलाई भुक्तानीमा निकै सास्ती खेप्नु परेकाले जिल्लाको उत्तरी भेग बर्दिबासदेखि सुदूरदक्षिणको जलेश्वरसम्म विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।

जिल्लामा विगत लामो समयदेखि उखुखेती गर्दै आएका किसान क्रमशः अब यो पेशा त्याग्न थालेका छन् । करिब २० हजार बिघामा व्यावसायिक रुपमा उखुखेती हुने महोत्तरी जिल्लामा अहिले ६ हजार ५०० बिघामा मात्र उखुखेती भइरहेको र अर्का वर्ष तीन हजार बिघामा झर्ने उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।

साथै उधारोमा उखु बेच्न बाध्य रहेका किसानले आफ्नो भुक्तानी लिन प्रत्येक वर्ष उखु मिलमा धाउनुपर्ने बाध्यता रहेको र जग्गा भाडामा लिएर तथा ऋण काढेर उखुखेती गरेका किसान जग्गाको भाडा, मल, बीउ, खेतालाको पैसा तिर्न नसकेर घरखेत लिलाम हुने अवस्थामा पुगेको कुशवाहाले बताए।

एकपटक रोपेर दुई बाली लिइने उखुमा पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । यसपालि नयाँ उखु बाली लगाउने किसान नदेखिएपछि अझै उखु घट्ने स्पष्ट देखिएको हो । उखु खेतीको तयारीमा प्राविधिक सहयोग र सुलभ ऋण नपाउनु, उखु खेतीको मूल्य निर्धारणमा बर्सेनि झमेला हुनु र भुक्तानी समयमा नपाएपछि यो खेती घट्दै गएको बताइएको छ । उखुखेती नगदेबाली र सरकारले यसलाई राष्ट्रियबाली भनेर घोषणा गरिसकेको छ । तर नगदेबाली भनिएको उखुको उधारो कारोवारले किसानलाई सास्ती खेप्नु परेको छ।

जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले उखु कटानको चलान पूर्जी दिन थालेपनि भुक्तानी कहिले पाउने थाहा नभएकोले किसानहरु मर्कामा परेका छन्।

महोत्तरी जिल्लामा मात्र नभएर प्रदेश नं २ को अधिकांश जिल्लाका किसानले विस्तारै उखुखेती छोड्दै गएका छन् जसका कारण कतिपय चिनी मिल बन्द हुने अवस्थामा पुगेको छ । यसले गर्दा एकातिर उद्योग धरासायी हुने गरेको छ भने अर्कोतिर कैयाैँ मजदूरको रोजगारीसमेत गुमेका कारण तिनीहरुलाई आर्थिक समस्या आएको छ।

सरकारले विदेशवाट आयात भएर आउने चिनी नरोक्दा आफ्नो उत्पादन बजारसम्म पुग्न नसकेकाले आर्थिक अभावको कारण समयमा किसानलाई भुक्तानी दिन नसकिएको मिलका सञ्चालकले स्वीकारेका छन् । उनीहरु उद्योग सञ्चालनमा लागेको पूँजीको ब्याज, उद्योगस्थलको भाडा, किसानको खेती लागत र उत्पादन समेतको वैज्ञानिक लेखाजोखा गरेर सरकारले उखुको मूल्य तोक्नुपर्ने भनेका छन्।


प्रकाशित : २०७७ पुष २२, बुधबार १४:१० गते

धेरै पढिएको

ताजा समाचार