इन्डोनेसियाको कोभिड-१९ खोप : नियमित काममा जाने १८-५९ वर्ष उमेर समूहलाई पहिलो प्राथमिकता


२२ पुस, काठमाडौं । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइने जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।

समग्र जनसंख्याको अधिकांश मानिसमा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता विकास हुनुलाई हर्ड इम्युनिटी भनिन्छ र यसको विकास भएको अवस्थामा समुदायमा संक्रमण नियन्त्रणमा आउँछ भन्ने मान्यता छ ।

अधिकांश मुलुकले सबैभन्दा धेरै पाका नागरिकहरुलाई प्राथमिकतामा परेका छन् तर इन्डोनेसियाले फ्रन्टलाइन कर्मचारी र त्यसपछि काममा जाने उमेर समूहका मानिसहरुलाई प्राथमिकतामा राख्दै कोरोना खोप दिइने भएका छन्।

चीनको सिनोभ्याक बायोटेकको खोपबाट खोप कार्यक्रम सुरु गर्न लागेको इन्डोनेसियामा यो खोपको परीक्षण १८-५९ वर्ष उमेर समूहका मानिसहरुमा गरिएको थियो।

इन्डोनेसियाले खोप वृद्ध मानिसहरुमा कतिको प्रभावकारी हुन्छ भन्ने जानकारीको लागि पर्याप्त तथ्यांक नभएको हुनाले ८-५९ वर्ष उमेर समूहका मानिसहरुलाइ प्राथमिकतामा राखेको हो तर वृद्ध नागरिकहरुलाई खोपबाट बञ्चित गराउने उद्देश्य नरहेको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकारीले बताए ।

बेलायत र अमेरिकाले अनुमति दिएको फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना खोप सबै उमेरका मानिसहरुमा प्रभावकारी देखिएतापनि इन्डोनेसियाले सुरुआतमा केवल चिनियाँ खोपलाई मात्र अनुमति दिएको छ । यो मुलुकले सिनोभ्याकसँग १२ करोड ५५ लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । जसमध्ये पहिलो खेपमा ३० लाख डोज कोरोना खोप आइसकेको छ ।

इन्डोनेसियामा फाइजरको खोप तेस्रो त्रैमासदेखि आउने अपेक्षा छ भने अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँगको सहकार्यमा विकास गरेको खोप भने दोस्रो त्रैमासमा मात्र आइपुग्ने अपेक्षा गरिएको छ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटीका पिटर कोलिङननले इन्डोनेसियाको यो योजनाले कोरोना संक्रमण नियन्त्रण गर्न सक्ने तर मृत्युदर भने घटाउन नसक्ने बताए । कोलिङननले इन्डोनेसियाले युरोप र अमेरिकाभन्दा केही फरक गरेर समग्र विश्वलाई देखाउन चाहेपनि वास्तवमा कुन सही तरिका हो भन्ने कसैलाई पनि थाहा नभएको बताएका छन्।

उनले काममा जाने युवाहरु सामान्यतया धेरै सक्रिय, सामाजिक र भ्रमण गर्ने हुँदा यो नीतिले सामुदायिक संक्रमण वृद्ध उमेरका मानिसहरुलाई खोप दिएको स्थानमा भन्दा छिटो नियन्त्रणमा आउने तर कोरोना संक्रमणपछि गम्भीर लक्षण देखिने र मृत्युको जोखिम वृद्ध मानिसहरुमा हुने भएकाले वृद्ध मानिसहरुलाई खोप लगाउनुपर्ने कुरा बताएका छन्।

इन्डोनेसियाका स्वास्थ्यमन्त्री गुनाडी सडिकिनले इन्डोनेसियामा कोरोनाविरुद्ध हर्ड इम्युनिटी विकास गर्न करिब ६७ प्रतिशत अर्थात् १८ करोड १५ लाख मानिसलाई खोप दिनु जरुरी छ । प्रत्येक मानिसलाई दुई डोज दिँदा र १५ प्रतिशत खेर जान सक्ने खोपलाई गणना गर्दा समग्रमा इन्डोनेसियालाई ४२ करोड ७० लाख डोज कोरोना खोप आवश्यक देखिएको उनको भनाइ छ ।

केही विशेषज्ञहरु भने हर्ड इम्युनिटीको विकास हुनेमा आशंका व्यक्त गर्दै खोप लिएका मानिसले भाइरस सार्न नसक्ने प्रमाणको लागि पर्याप्त तथ्यांक उपलब्ध नरहेकाले खोप लिएपछि पनि कोरोना संक्रमण सार्न सक्ने सम्भावना हुने भन्दै आशंका व्यक्त गर्दै आएका छन् ।


प्रकाशित : २०७७ पुष २२, बुधबार १०:५८ गते

धेरै पढिएको

ताजा समाचार