चीनमा साइनोफार्मले विकास गरेको कोविदविरुद्धको खोप स्वीकृत: विश्वका धेरै मानिसले सो खोप प्राप्त गर्ने सम्भावना


१७ पुस। चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको छ। साथै यूएई र बाहरेनले साइनोफार्मले विकास गरेको खोप प्रयोगमा ल्याइसकेका छन्।

उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।

चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो र बिहिवारको घोषणा चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो।

विज्ञहरूले सावधान रहँदै खोपलाई दिइएको स्वीकृतिको स्वागत गरेतापनि परीक्षणको विस्तृत डेटा सार्वजनिक नगरिएको बताएका छन्।सोलस्थित इन्टरन्यासनल भ्याक्सिन इन्स्टिच्युटका सोङ मान-कीले पूर्ण रूपमा समीक्षा गरिएको अध्ययन वा डेटा प्रकाशन नगरिएकाले चिनियाँ वा रुसी खोपको प्रभावकारिता बारे टिप्पणी गर्न गाह्रो भएको माचार संस्था रोयटर्सलाई बताएका छन्।

चीनले आफूले विकास गरेको खोप कम विकसित मुलुकहरूलाई “उचित मूल्य” मा दिने जनाएको छ। त्यसैले विश्वका धेरै मानिसहरूले सो खोप प्राप्त गर्ने सम्भावना रहेको छ।

साइनोफार्मले विकास गरेको खोपलाई चीनले स्वीकृत गरेको केही घण्टामै पाकिस्तानले १२ लाख मात्रा खरिद गर्ने घोषणा समेत गरेको छ र बेङजीङ्ले चिनियाँ नयाँ वर्षको सुरुवात फेब्रुअरी महिनाको मध्यसम्ममा करोडौँ सर्वसाधारणहरूलाई खोप लगाउने अपेक्षा समेत गरेको छ।


प्रकाशित : २०७७ पुष १७, शुक्रबार १२:३४ गते

धेरै पढिएको

ताजा समाचार