राष्ट्रिय परीक्षा बोर्डले एसईईको आवेदन फारम खुलायो: कक्षा ९ को रजिष्ट्रेशन फारम पनि खुल्यो


पुस १५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ। आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ र फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको छ।

यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ र रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ।

गत वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो तर यसपाली एसईई कहिलेदेखि हुने भन्नेमा राष्ट्रिय परीक्षा बोर्ड अन्यौलमा देखिएको छ।


प्रकाशित : २०७७ पुष १५, बुधबार १०:२४ गते

धेरै पढिएको

ताजा समाचार