त्रिविले यो वर्ष हिउँदे बिदा नदिने: चैत्रभित्र सबै परीक्षा सञ्चालन हुने


काठमाडौँ – त्रिभूवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषदले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा नदिने भएको हो।

अरुबेला त्रिविले सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो तर यसवर्ष कोभिड–१९ का कारण पठनपाठन हुन नसकेकाले हिउँदे बिदा कटौती गरिएको त्रिविका रजिष्ट्रार डा. पेशल दाहालले बताएका छ ।

कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो तर अहिले त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ र धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् ।

यस्तै उपत्यकाका क्याम्पस सञ्चालन गर्न सरकारसँग अनुमति मागेको र स्वीकृति पाउनासाथ कक्षा सञ्चालन गर्ने तयारीमा रहेको डा. पेशलले बताएका छन्। यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि मङ्सिर दोस्रो सातादेखि सञ्चालन भएका छन् र चैत्रभित्र सबै परीक्षा सञ्चालन हुनेछन्।

त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हालको परीक्षा समयमै सम्पन्न गर्न एवम् अर्को वर्ष सेमेष्टरको बाँकी पढाइ पनि सम्पन्न गर्ने तयारी गरेको कुरा डा. पेशलले बताएका छन्।


प्रकाशित : २०७७ पुष ११, शनिबार ०९:२७ गते

धेरै पढिएको

ताजा समाचार