सरकारद्वारा चिनी उद्योगीविरुद्ध ‘सर्च अपरेशन’: ५ जना चिनी उद्योगीविरुद्ध पक्राउ पुर्जी


काठमाडौं । काठमाडौंको थापाथली स्थित ट्रेड टावरमा श्रीराम सुगर मिल्समा बुधवार मध्यान्ह सादा पोशाकका प्रहरीले ट्रेड टावरमा घेरा हालेका छन्। प्रहरीले मिल्स संचालक विशाल अग्रवाल सो कार्यालयमा भएको सुराक पाएकाले त्यहाँ घेरा हालेका थिए तर अग्रवाल त्यहाँ भेटिएनन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले मंगलबार चिनी उद्योगी पक्रने निर्णय गरेपछि प्रहरीले काठमाडौंमा ‘सर्च अपरेशन’ चलाएतापनि कुनै सफलता हासिल गर्न सकेका छैनन्। तीन दिन बितिसक्दापनि अझै एकजना पनि चिनी उद्योगी पक्राउ परेका छैनन्।

बुधवार साँझ शंखमुलको एउटा घरमा चिनी उद्योगी लुकेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह आफ्नो टोली सहित त्यहाँ छानबिन गर्दा पनि उद्योगी फेला परेका छैनन्।

चिनी मिल्स संचालकले करोडौं बक्यौता रकम नतिरेपछि उखु किसानहरु काठमाडौंको माईतिघरमा दैनिक बिरोध प्रदर्शन गरिरहेका छन्। ‘कम्युनिष्ट’ सरकारले किसानका हक हितका लागि नियम कानुनहरु बनाउने भनेतापनि किसानहरु पीडित बन्नुपरेकाले सरकारविरुद्ध जनमानस तथा बौद्धिक वर्गहरुमा समेत आलोचना भएको छ।

सरकारले चिनी उद्योगीहरुलाई पक्रने निर्णय गरेपछि श्रीराम सुगर मिल्सका संचालकले ३५ करोड रुपैयाँ जम्मा गरेका छन् । सो रकम जिल्ला प्रशासन कार्यालयको रोहबरमा शुक्रवारबाट किशानलाई वितरण गरिँदै छ ।

उखु किसानले चिनी उद्योगी विरुद्ध प्रहरीमा जाहेरी दिएपछि अदालतले पाँच जनालाई पक्राउ गर्न अनुमति दिएको छ ।विशाल अग्रवालसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति जारी गरिएको छ । श्रीराम सुगर मिल्सका दुई जना संचालक र कार्यकारी निर्देशक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

‘ठगी मुद्दा’मा श्रीराम सुगर मिल्सका संचालक विशाल अग्रवाल, हितेश गोल्छा र कार्यकारी निर्देशक पदमकान्त झा विरुद्ध पक्राउ अनुमति आएको रौतहटका एसपी सिद्धीविक्रम शाहले बताएका छन्।साथै इन्दिरा सुगर मिलका संचालक राकेश अग्रवाल र लुम्बीनी सुगर मिलकी संचालिका सुशिला गोयलबिरुद्द पनि पक्राउ पुर्जी जारी भएको पश्चिम नवलपरासीका एसपी अजय केसीले बताएका छन्। राकेशको नाममा सर्लाहीबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ ।


प्रकाशित : २०७७ पुष ३, शुक्रबार ११:३६ गते

धेरै पढिएको

ताजा समाचार