१२ वर्षीय बालिका सम्झना विकको बलात्कार पछि हत्या आरोपी राजेन्द्र बोहरा फरार: प्रहरीले नाका जाँचमा कडाइ


१९ मंसिर २०७७, डोटी । बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीय बालिका सम्झना विकको बझाङकै १६ वर्षीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेका थिए। उमेर कम भएका कारण पुर्पक्षका लागि उनलाई जिल्ला बालसुधार केन्द्र डोटीमा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार राजेन्द्र बोहरा राति जिल्ला बालसुधार केन्द्र डोटीबाट फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ ।

बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएकाले बालसुधार केन्द्रबाट उनलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।आइसोलेसनमा भर्ना भएका बोहरा गए राति ११ बजे बेपत्ता भएका थिए। खोजीका लागि प्रहरी टोली परिचालन गरिए पनि बोहरालाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो ।

उनले बोहरालाई कोरोना सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको र राति उनि बेपत्ता भएपछि खोजी गरिरहदा पनि पत्ता लाउन नसकेको बताएका छन्। खोजीका लागि जिल्लाका प्रहरी प्रमुख पाण्डेय, प्रहरी नायब उपरीक्षक मल्ल, निरीक्षक कान्तिराज जोशीसहितको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बोहराले १६ वर्षीय सम्झना विकलाई बलात्कार गरी हत्या गर्नुपूर्व मष्टा गाउँपालिकाकै १४ वर्षीया अर्की बालिकालाई पनि जबर्जस्ती करणी गरेका थिए ।उक्त करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

फरार बोहराको खोजीका लागि प्रहरीले गए रातिदेखि कडाइ गरेको छ र विभिन्न नाका तथा यातायातका साधन जाँचमा कडाइ गरेको छ। फरार बोहरालाई फेला पार्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार १५:०७ गते

धेरै पढिएको

ताजा समाचार