नेकपाको आगामी चैत्र अन्तिम साता महाधिवेशन

0
46

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत्र अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

करिब डेढ महिना स्थगित भएपछि आज बसेको बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने निर्णय पनि गरेको छ ।

यसअघि गत मंसिरमा प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय भएपनि कार्यान्वयनमा समस्या आएकाले त्यसलाई आजको बैठक थप व्यख्या गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । स्थायी समितिको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनुहुनेछ । प्रवक्ता श्रेष्ठले पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन ओलीले गर्ने बताउनुभयो । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । सचिवालको र दुई अधयक्षको परामर्श तथा सहमतिमा निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो सरकारले प्रस्तुत गर्ने विधेयकको शैद्धान्तिक पक्षका बारेमा पार्टीको कमिटीहरुमा छलफल गरेर अगाडी बढ्ने निष्कर्षपनि बैठकले निकालेको छ ।

अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल लगायत १३ जना सदस्यले आफ्नो धारणा राख्नुभएको छ । बैठकमा आएका धारणा र लिखित रुपमा सदस्यहरुले पेश गरेका सुझावहरुलाई समेत प्रस्तावमा समावेश गरी पारित भएको उहाँले बताउनुभयो । बैठकले नेपाल भारत सीमा समस्या समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई सकारात्मक रुपमा लिँदै अतिक्रमणमा परेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि वार्ताबाट आवश्यक पहल गर्न सुझाव दिएको छ ।

कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गरेका कामहरु सकारात्मक रहेको बैठकले निष्कर्ष निकालेको छ । अझै प्रभावकारी नियन्त्रण र उत्पन्न परिस्थितिको सम्बोधनका लागि राष्ट्रिय एकताका साथ अगाडी बढ्न सरकारलाई बैठकले सुझाव दिएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै देखिएका समस्या सम्बोधनमा देखिएका समस्यालाई गम्भिरतापूर्वक लिन पनि सुझाव दिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि नेकपाले गरेको छ । झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा संशोधनको प्रकृया छिट्टै अगाडी बढाउने उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि चाहाना राख्ने देखि विदेशी शक्तिहरु असफल भएको बताउनुभएको उहाँले बताउनुभयो । यस्तै अर्का अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै एकताको रक्षा गरी बैचारिक र सांगठनिक रुपमा अझै मजवुद बनाएर अगाडी बढाउने दिशामा गएको बताउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here