कोरोना बारे अहिले सम्म बैज्ञानिकहरुले फेला पारेका सम्पूर्ण तथ्यहरु .. एक पटक अवश्य पढ्नुहोस

0
129

कुनै महामारी फैलिएकोबारे जाँच गर्नु भनेको जासुसी अनुसन्धानजस्तै हुन्छ । कुनै जासुसी अनुसन्धानमा प्रमाणहरु गायब हुनुभन्दा पहिला नै अपराध भएको स्थानमा पुग्नुपर्छ, प्रत्यक्षदर्शीसँग कुरा गर्नुपर्छ । त्यसपछि अनुसन्धान सुरु हुन्छ । प्रमाणहरुको कडीलाई जोडेर आगामी घटनाभन्दा अघि नै हत्यारालाई नियन्त्रणमा लिइन्छ ।

अन्तर्राष्ट्रियस्तरको तमाम प्रयासका बाबजुद कोरोना महामारीको प्रकोप लगातार फैलिँदै गएको छ र यसले दैनिक हजारौंको ज्यान लिइरहेको छ । महामारीको आतंक ६ महिना अघि सुरु भएको थियो । अहिलेसम्म वैज्ञानिकहरुले कोरोनाभाइरसका बारेमा के–कति पत्ता लगाएका छन् ?

पहिलो चेतावनी
कुनै भाइरसले हाम्रो स्वास्थ्यमा के असर गर्छ र यो कति तीव्र रुपमा फैलिन्छ भन्ने बुझ्नका लागि भाइरसको सुरुवाती चरणबारे जान्न जरुरी हुन्छ । तर कोरोनाभाइरसले सुरुवातदेखि नै मानिसलाई आश्चर्यमा पार्दै आएको छ ।जब विश्व सन् २०२० को आगमनमा उत्सवको तयारीमा जुटेको थियो, त्यतिबेला चीनको ऊहान सेन्ट्रल अस्पतालका आपतकालीन विभागका डा. ली वेनलियाङ्गले सातजना यस्ता बिरामी फेला पारे जो फोक्सोको बिमारी ‘निमोनिया’ बाट पीडित थिए । ती सबैलाई क्वारेन्टिनमा राखियो ।

३० डिसेम्बरमा आफ्ना सहकर्मीसँग प्राइभेट वीच्याट म्यासेजिङ्ग एपमा डा. लीले ‘सार्स’ (सिभर एक्यूट रिस्पेरटरी सिन्ड्रोम) को नयाँ चरण आएको हो कि भन्ने आशंका जनाए ।सार्स कोरोनाभाइरसकै एउटा रुप हो । पहिलोपटक यो चीनमै सन् २००३ मा देखिएको थियो । त्यसपछि यो २६ देशमा फैलियो । यसको चपेटामा ८ हजारभन्दा बढी मानिस परेका थिए । यद्यपि डा. लीले जुन बिमारीको पहिचान गरेका थिए, त्यो सार्सको दोस्रो चरण थिएन, त्यो त कोभिड–१९ (सार्स–कोभ–२) को पहिलो चरण थियो ।

चिनियाँ मिडियाका अनुसार आफ्ना सहकर्मीसँग यो बिमारी फैलने चेतावनी दिएको तीन दिनपछि डा. लीलाई प्रहरीले आठजना अन्यका साथ अफवाह फैलाएको आरोपमा हिरासतमा लियो । काममा फर्किएपछि डा. ली कोभिड–१९ बाट संक्रमित भए । ३४ वर्षीय लीको फेब्रुअरी ७ मा मृत्यु भयो । परिवारमा उनकी गर्भवती पत्नी र एक छोरा छन् ।

कसरी भयो संक्रमणको सुरुवात ?

ऊहान सहरको नयाँ हिस्सामा छ हुआनान सीफूड मार्केट । स–साना पसलले भरिएको यो बजार हरेक प्रकारका मासु, माछाका लागि एक प्रकारको ‘हब’ नै मानिन्छ । डिसेम्बर २०१९ को अन्तिम साता डाक्टर र नर्सहरुले जब यो बिमारी फैलने चेतावनी दिन थाले, स्वास्थ्यकर्मीहरुले सबैभन्दा पहिला कोरोना महामारीको सम्पर्क यो बजारमा देखे । अधिकांश संक्रमित बिरामी हुआनान सीफूड मार्केटमा काम गर्नेहरु नै थिए । ३१ डिसेम्बरमा ऊहानको स्वास्थ्य आयोगले आफ्नो पहिलो रिपोर्ट बेइजिङ प्रशासनलाई दियो । अर्को दिन बजारलाई नै क्वारेन्टिन गरियो ।
आज वैज्ञानिक एक मत भएर मानिरहेका छन् कि सीफूड मार्केटमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको थियो । तर कोरोनाको पहिलो मामिला यो बजारबाट बाहिरियो भनेर भन्न सक्ने अवस्था भने छैन । यद्यपि बजारमा जब मानिसहरु र जीवित जनावरको नमूना लिइएको थियो, उनीहरु सबै कोभिड–१९ बाट संक्रमित थिए ।ऊहानमै भएको मेडिकल रिसर्चका अनुसार मानिसमा कोरोनाभाइरसको पहिलो मामिला सीफूड मार्केटमा संक्रमण फैलिनुभन्दा चार साता अघि नै प्रकाशमा आइसकेको थियो । ऊहानका एक वृद्धमा १ डिसेम्बर, २०१९ मै कोरोनाभाइरसको लक्षण पाइएको थियो । जबकि ती वृद्धिको सीफूड मार्केटसँग कुनै सम्पर्क पाइएको थिएन ।

जनवरीमा ऊहानका स्वास्थ्यकर्मीहरुले सहरका अस्पतालमा लगातार कोरोना संक्रमण बढिरहेको पाए । कसैले पनि यो भाइरस यति तीव्ररुपमा फैलने अनुमान गरेका थिएनन् । तर यो महामारी चीनमा मात्र नभई एसियाली महाद्वीपमै तीव्र रुपमा फैलन थालेको थियो । ऊहानमा कोभिड–१९ बाट पहिलो मृत्यु ११ जनवरी, २०२० मा प्रकाशमा आयो । त्यसको केवल ९ दिन मै कोरोनाभाइरस चीनबाट जापान, दक्षिण कोरिया र थाइल्याण्डसम्म पुग्यो । विश्वभरका चिकित्सकीय र प्राविधिक विकासलाई कोरोनाभाइरसले निकै पछाडि छोड्यो ।

के हो कोरोना भाइरस ?

इम्युनोलोजीका प्रोफेसर क्रिस्टियान एन्डरसन भन्छन्, ‘हाम्रो पहिलो प्रश्न हमेशा यही हुन्छ, यो के हो ?’ एन्डरसनको लेबोरेटरीलाई संक्रामक रोगका जीनोमिक्स अध्ययनकोे विशेषज्ञ मानिन्छ । भाइरस जनावरबाट मानिसम्म कसरी पुग्यो र त्यसपछि यति ठूलो मात्रामा कसरी फैलियो, यसको पत्ता लगाउने प्रयास उनीहरु गरिरहेका छन् । डिसेम्बरमा अस्पतामला कोरोनाभाइरसको पहिलो बिरामी भर्ना भएको केही घण्टामै बिरामीको स्वाबको विश्लेषण ऊहान इन्स्टिच्यूट अफ भायरोलोजीका वैज्ञानिकहरुले सुरु गरे । जीनोमलाई अक्षरले बनेको तार मान्ने हो भने मानिसको जीनोम करिब तीन अरब जेनेटिक अक्षरबाट मिलेर बनेको हुन्छ । एक सामान्य फ्लु भाइरस १५ हजार जेनेटिक अक्षरबाट बनेको हुन्छ । यस चेनमा कुनै भाइरसले आफूलाई कति पटक दोहो¥याउन जरुरी हुन्छ, अनिमात्र बिमारी र संक्रमण फैलन्छ भन्ने निर्देश पनि सामेल हुन्छ ।

एउटा भाइरसको जीनोमलाई तय गर्न महिनौं लाग्छ, कयौं पटक त वर्षौं पनि लाग्छ । तर निकै कम समयमा १० जनवरी, २०२० मा प्रोफेसर यङ्ग जेन जेङ्गको नेतृत्वमा ऊहान इन्स्टिच्यूट अफ भायरोलोजीका वैज्ञानिकले कोभिड–१९ को पहिलो जीनोमिक सिक्वेन्स प्रकाशित गरे । यो कोरोनाभाइरसलाई बुझ्ने पहिलो निकै महत्वपूर्ण प्रयास थियो । प्रोफेसर एन्डरसनले भने, ‘जब हामीले पहिलो सिक्वेन्स हे¥यौं, त्यतिबेला नै हामीलाई थाहा भइसकेको थियो कि यो कोरोनाभाइरसकै एउटा रुप हो र सार्ससँग ८० प्रतिशत मिल्दोजुल्दो छ ।’

वास्तवमा कोरोनाभाइरस भाइरसकै एउटा ठूलो परिवार हो । यसमा सयौंको पहिचान भइसकेको छ । यो सुँगुर, ऊँट, चमेरो र बिरालोमा पाइन्छ । कोभिड–१९ कोरोनाभाइरस परिवारको सातौं प्रारुप हो, जो जनावरबाट मानिसमा सरेको हो । प्रोफेसर एन्डरसन भन्छन्, ‘हाम्रो दोस्रो प्रश्न यही छ कि यसको उपचार कसरी गर्न सकिन्छ ? यसका लागि परीक्षण गराउने भाइरस संक्रमण फैलने तरिका बुझ्न जरुरी हुन्छ ।’ उनका अनुसार हाम्रो तेस्रो प्रश्न यो छ कि हामी यसका लागि खोप कसरी विकसित गर्न सक्छौं ? यसको जवाफ भाइरसको जेनेटिक्सको ब्लू प्रिन्टबाट नै प्राप्त हुन्छ ।

प्रोफेसर एन्डरसनका अनुसार धेरै प्रमाण छन्, जसको आधारमा भन्न सकिन्छ कि कोरोनाभाइरसको उत्पत्ति चमेरोबाट भएको हो । उनले भने, ‘यसको सुरुवात चमेरोबाट भएको हो, हामी यो पनि जान्दछौं कि यो पूर्ण रुपमा प्राकृतिक भाइरस हो किनकि यस्ता कयौं भाइरस चमेरोमा पाइन्छ । तर हामीलाई थाहा छैन कि यो मानिससम्म कसरी पुग्यो ?’ एन्डरसनको टिमले चमेरोमा पाइने अन्य कोरोनाभाइरसको पनि अध्ययन गरेको छ जो कोभिड–१९ सँग ९६ प्रतिशतसम्म मिल्छ । ती वैज्ञानिकले कोभिड–१९ जस्तै समानता पेंगोलिनमा पाइने कोरोनाभाइरसमा पनि भेटेका छन् । पेंगोलिनको बढी मात्रामा तस्करी एसियामा हुने गर्दछ ।

त्यसो भए के कोभिड–१९ चमेरोबाट पेंगोलिनसम्म पुगेको हो ? त्यहाँ केही अतिरिक्त प्रोटिन हासिल गरेपछि यो मानिससम्म पुगेको हो ? वैज्ञानिकहरु यी सब सम्भावनाको अध्ययन गरिरहेका छन् । विश्वलाई कोभिड–१९ को पहिलो जेनेटिक सिक्वेन्स जानकारी गराएको दुई दिनभित्रै स्थानीय अधिकारीहरुले प्रोफेसर जेङ्गको लेबोरेटरीलाई बन्द गरिदिए र उनको रिसर्च लाइसेन्सलाई रद्द गरिदिए । चिनियाँ मिडियाका अनुसार यसको कुनै आधिकारिक कारण भने बताइएन तर प्रोफेसर जेङ्गको टिमले गरेको अध्ययनले विश्वभरका वैज्ञानिकलाई बाटो देखाएको थियो ।

प्रोफेसर एन्डरसन भन्छन्, ‘कोभिड–१९ को पहिलो जीनोम सिक्वेन्सविना हामी कुनै अध्ययन सुरु गर्न सक्दैनौं । यसका लागि ती वैज्ञानिकलाई धन्यवाद छ जसले अविश्वसनीय रुपमा चाँडो यति महत्वपूर्ण जानकारी विश्वलाई दिए ।’

सम्पर्कमा आएकाको पत्ता लगाउनु

कोभिड–१९ को रोकथामको दृष्टिमा सबैभन्दा सफल मुलुक ५.१ करोड जनसंख्या भएको मुलुक दक्षिण कोरिया नै साबित भएको छ । दक्षिण कोरियाले संक्रमितको सम्पर्कमा आएकाहरुको पत्ता लगाउन एउटा सानो सेना नै तयार ग¥यो, यही नै उसको सफलताको सबैभन्दा ठूलो कारण बन्यो । कन्ट्याक्स ट्रेसरका रुपमा उक्त सेनामा सामेल भएकाहरुले कोभिड–१९ संक्रमित र हालैका दिनमा उनीहरुको सम्पर्कमा आएका मानिसको पत्ता लगाउँथे । यसरी पत्ता लगाइसकेपछि उनीहरु ती मानिसलाई सेल्फ आइसोलेसनमा पठाउँथे या सिंगो घर वा संस्थालाई क्वारेन्टिन गर्न जरुरी छ कि छैन भन्ने पत्ता लगाउँथे । अस्पतालहरु, केयर होम र कार्यालयमा यस्तो विधि प्रयोग गरिन्थ्यो ।

जनवरी र फेब्रुअरीमा दक्षिण कोरियामा कोरोना संक्रमणका केही मामिलामात्र देखिए । संक्रमण फैलने खतरा टार्न यो मुलुक सफल रह्यो । तर फेब्रुअरीको अन्त्यतिर केही दिनभित्रै दक्षिण कोरियाको एउटा सहरमा कोरोना संक्रमणको हजारौं मामिला प्रकाशमा आयो । डायेगो सहरमा कोरोना संक्रमण केवल एक बिरामीको गतिविधिबाट सरेको पाइयो । बिरामी नम्बर ३१ को नामले चिनिने ती बिरामीलाई दक्षिण कोरियाको ‘सुपर स्प्रेडर’ पनि भनिन्छ ।

उनी १७ फेब्रुअरीमा कोरोनाबाट संक्रमित भएको पाइएको छ । तर कन्ट्याक्स ट्रेसर टिमद्वारा उनको सम्पर्कमा आएका सबै मानिसको पत्ता लगाउने काम भयो । १० दिनभित्रै उनी एक हजारभन्दा बढी मानिसको सम्पर्कमा आएको पाइयो । तर उनको सम्पर्कमा आएका सबैको पहिचान गरी उनीहरुलाई सेल्फ आइसोलेसनमा राखियो र यसबाट खतरा धेरै बढ्न पाएन । डायेगो सहरको महामारी रोग टिमका उपप्राध्यापक किम जोङ्ग युन उक्त सहरमा कन्ट्याक्ट ट्रेस गर्ने सेनाको सर्वेसर्वा हुन् । उनका अनुसार यस कामका लागि धेरैजसो पूर्वसरकारी कर्मचारी र जुनियर डाक्टरलाई तैनाथ गरिएको छ । उनका अनुसार ‘बिरामी ३१’ जस्तै जथाभावी गर्नेको सामना भएमा कठोर तौरतरिका पनि अपनाउनु पर्छ । जस्तो कि, क्रेडिट कार्डको लेनदेनको जाँच, फोन र जीपीएस हिस्ट्री जाँच आदि । प्रोफेसर किमका अनुसार ‘बिरामी ३१’ले पहिला आफू शिनचेओनजी चर्चको सदस्यका रुपमा आफूलाई चिनाएकी थिइनन् ।
आफ्नो टिमले नै त्यो कुरा पत्ता लगाएको उनले जानकारी दिए । शिनचेओनजी चर्चको दस्तावेजअनुसार देशभरमा करिब तीन लाख सदस्य छन् । भनिन्छ, यो चर्चका संस्थापक ली मेन ही जिसस क्राइस्टका दोस्रो अवतार थिए । दक्षिण कोरियाको मुख्यधाराका कयौं चर्च, यस समूहलाई एक पन्थ मान्छन् र युवालाई भर्ती गर्नका लागि लामो समयदेखि त्यसको आलोचना पनि गर्दै आएका छन् ।

त्यसो त ‘बिरामी ३१’ केवल शिनचेओनजी चर्चसँग आफ्नो सम्बन्ध लुकाएका कारणमात्र कुख्यात भएकी होइनन् । एक कन्ट्याक्ट ट्रेसरले पत्ता लगाए कि, कोभिड–१९ को परीक्षण गराउनुभन्दा १० दिन अघिसम्म कोरोनाको लक्षण देखिनुका बाबजुद उनी डायेगो सहरमा घुमिरहिन् । यस क्रममा एक हजारभन्दा बढी मानिस उनको सम्पर्कमा आए ।६ फेब्रुअरीमा कार दुर्घटना भएपछि ‘बिरामी ३१’लाई ७ फेब्रुअरीमा अस्पताल भर्ना गरियो । त्यहाँ कम्तीमा पनि १२८ जनासँग उनी सम्पर्कमा आइन् ।
यस क्रममा उनले घरबाट आफ्ना सामान ल्याउन केहीबेरका लागि छुट्टी लिइन् । करिब अढाइ घण्टाको यात्रापछि उनी अस्पताल आइन् ।
यसपछि उनी थोरै–थोरै समयका लागि अस्पतालबाट कयौं पटक बाहिर गइन् । एक पटक त उनी आफ्नो एक साथीसँग लन्चका लागि पनि गइन् । दुई पटक चर्च गइन् जहाँ दुई घण्टासम्मको कार्यक्रममा एक हजारभन्दा बढी मानिस एकत्रित भएका थिए ।

प्रोफेसर किमका अनुसार शिनचेओनजी चर्चको गुप्त नीतिका कारण त्यो साता त्यहाँ आएका मानिसको बारेमा जानकारी जुटाउन निकै मुस्किल थियो । उनले भने, ‘अन्ततः हामीले चर्चका नौ हजार सदस्यको सूची लिन सफलता पायौं, पहिला हामीले ती सबैलाई फोन ग¥यौं र सोध्यौं कि तपाईहरुलाई कोरोनाको लक्षण त छैन ? करिब १२०० मानिसले आफूलाई कोरोनाको लक्षण भएको बताए । तर केहीले परीक्षण गर्न र सेल्फ क्यारेन्टिनमा जान अस्वीकार गरे ।’ सयौं मानिस चर्चसँगको आफ्नो सम्बन्ध खुलाउन चाँहदैनथे । यस्तो अवस्थामा प्रोफेसर किमसँग अर्को कुनै बाटो थिएन । प्रोफेसर किमले भने, ‘हामीले चाँडोभन्दा चाँडो ती मानिसलाई डायेगोका आम नागरिकबाट अलग गर्नु थियो । यस्तोमा सरकारले एक कार्यकारी आदेश जारी ग¥यो कि चर्चका सबै सदस्य सेल्फ आइसोलेसनमा बस्नुपर्ने छ ।’ कोरोना संक्रमणको हरेक नयाँ मामिलाको सघन जाँच र ठूलो मात्रामा परीक्षणका माध्यमबाट सहरलाई भाइरस संक्रमण हुनबाट अंकुश लगाइयो । अप्रिलको अन्त्यसम्ममा डायेगो सहरमा कोभिड–१९ का मामिलाको संख्या शुन्यसम्म पुग्यो ।

यद्यपि विश्वका अन्य भागमा भाइरसको संक्रमण लगातार बढ्दै गएको थियो । वैज्ञानिक समुदाय भाइरसलाई देशको स्तरबाट मात्र होइन, महाद्वीप स्तरमा पनि ट्रयाक गरिरहेका थिए । यस भाइरसको समस्याको जवाफ यसको जीनोममै लुकेको छ । तर यसको जेनेटिक कोडबाट कोभिड–१९ भाइरसले आफूलाई दोहो¥याउने र संक्रमण फैलने स्तरसम्म पुग्नेबारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रमाणको निशान

पहिलो पटक कोभिड–१९ संक्रमितको नाकको स्वाबको विश्लेषण चीनको ऊहानमा भएको थियो । जसमा वैज्ञानिकहरुले भाइरसका जीनोमको अध्ययन गरे । यसमा कोभिड–१९ को भाइरसमा ३० हजार जेनेटिक अक्षरको शृंखला थियो र संक्रमण फैलनका लागि सबै भाइरसले आफूलाई दोहो¥याउन जरुरी थियो । प्रोफेसर योङ्ग जेन जाङ्गको टिमले जनवरी महिनामा जीनोमको खोज गरेको थियो । त्यसपछि विश्वभरका वैज्ञानिकले कोभिड–१९ का १० हजारभन्दा बढी संक्रमितको स्वाबको विश्लेषण गरे । यसको नतिजा ‘जीआइएसआइडी’मा अपलोड गरे । ‘जीआइएसआइडी’ एक प्रकारको खुला डाटाबेस स्रोत हो ।

हजारौं पटक कोभिड–१९ जीनोमको सिक्वेसिङ्ग गरेर वैज्ञानिकले यसको जेनेटिक कोडमा हुने परिवर्तनलाई बुझ्न सफल भए । यस्तो परिवर्तनलाई हामी अक्षरमा ‘टाइप एरर’ जस्तो मान्न सक्छौं । भाइरसले छाडेका प्रमाण जस्तै त्यसमा हुने परिवर्तनको क्रमिक अध्ययनबाट विभिन्न देशमा फैलिने यसको कारणलाई बुझ्न सकिन्छ । उदाहारणका लागि न्यूयोर्कका संक्रमितको नमूनाबाट थाहा हुन्छ कि त्यो नमूनाको भाइरसमा तीन पटक परिवर्तन भएको छ र ऊहानमा लिएको अधिकांश नमूनामा भाइरसको जीनोममा त्यही तीन परिवर्तन पाइएमा संक्रमणको स्रोत एउटै हुनेमा धेरै हदसम्म सम्भव हुन सक्छ । यसरी घटनाको टाइमलाइन तयार पारेपछि विशेषज्ञले भाइरस कहिले र कसरी ऊहानबाट न्यूयोर्क पुग्यो भन्ने बुझ्न सफलता पाए । विश्वमा जुनको पहिलो सातासम्म ३७ हजार नमूनाको जीनोम सिक्वेन्स भइसकेको थियो र यसपछि नै कोभिड–१९को खतरनाक र ध्वस्त गर्ने प्रवृत्तिको पूर्ण रुपमा जानकारी पाइएको हो ।

महामारी रोग विशेषज्ञ डा. एमा हुडक्राफ्ट ‘नेक्स्टस्ट्रेन’सँग काम गर्छिन् । ‘नेक्स्टस्ट्रेन’ वैज्ञानिकहरु र जीनोम डिकोड गर्ने विज्ञहरुको समूह हो जसले जीआइएसएआइडीमा अपलोड दशौं हजार जीनोम सिक्वेन्सबाट अहम् जानकारीलाई एकत्रित गरेर एक ‘ओपन सोर्स म्याप’ तयार गरेको छ । यो म्याप एक प्रकारले विश्वमा फैलिएको कोभिड–१९ भाइरसको बदलिँदो जीनोमको रियल टाइम ‘स्न्यापशट’ हो ।

डा. हुडक्राफ्ट भन्छिन्, ‘मानिससँग कुरा गर्नुभन्दा उत्कृष्ट विकल्प भाइरसको जीनोमलाई ट्रयाक गर्नु हो । मानिसहरु सायद आफू कहिले संक्रमित भएँ र कहाँबाट संक्रमित भएँ भनेर भन्न सक्दैनन् । यस्तोमा जीनोम डेटा धेरै विश्वसनीय हुन्छ । खासगरी इरानजस्तो देशका सम्बन्धमा, जहाँबाट धेरै कम जानकारी आइरहेको हुन्छ ।

रहस्यमय कडीहरु

जनवरीको अन्त्यमा डा. हुडक्राफ्ट र नेक्स्टस्ट्रेनको टिमको ध्यान ती नमूनामा गयो जसको जीनोम निकै हदसम्म मिल्दोजुल्दो थियो । ती जीनोममा हुने परिवर्तन पनि समान थिए । तर ती नमूना विश्वका अलग अलग देश– अस्ट्रेलिया, न्यूजिल्याण्ड, जर्मनी, ब्रिटेन, अमेरिका, चीन र नेदरल्याण्डबाट लिइएको थियो । पहिलो नजरमा ती नमूनाको जाँच गर्नासाथ रातो रङ भएका नमूना कहाँबाट आयो भन्नेबारे टिमले पत्तो पाएको थिएन ।

हुडक्राफ्ट भन्छिन्, ‘यी नमूना एक प्रकारले एउटै रुखका शाखाजस्तो लागिरहेका थिए । यो आश्चर्यलाग्दो थियो किनकि जसको नमूना लिइएको थियो, उनीहरुमा कुनै समानता थिएन । अनि हामीलाई थाहा भयो कि जुन अस्ट्रेलियालीको नमूना लिइएको थियो, उनीहरु इरानको यात्रामा थिए ।’ उनी भन्छिन्, ‘यो निकै महत्वपूर्ण क्लू थियो । किनकि अहिलेसम्म हामीसँग इरानबाट कुनै नमूना थिएन । तर यसको पत्ता लागेपछि हामी भरोसाका साथ भन्न सक्ने अवस्थामा थियौं कि यी सबै नमूना या त इरानमा संक्रमित भएका हुन् या हालै इरानको यात्राबाट फर्किएकाको सम्पर्कमा आएका कारण संक्रमित भएका हुन् ।’

कोभिड–१९ को अध्ययनका हिसाबले जीनोममा नजर राख्नु एक शक्तिशाली उपकरण साबित भयो । किनकि भाइरस अपेक्षाकृत तीव्र रुपमा परिवर्तन भइरहेको थियो । जीनोमलाई ट्रयाक गरेकै कारण वैज्ञानिकका लागि पूरा क्षेत्रमा संक्रमण फैलनुको कारण केही नमूनाका माध्यमबाट बुझ्न सम्भव भयो ।

इरानको नमूना एकै परिवारको शाखाजस्तै थियो । ती नमूनाका माध्यमबाट ‘नेक्स्टस्ट्रेन’को टिमले ती संक्रमणको एकमात्र स्रोत इरान भएकोमात्र पत्ता लगाएन, इरानमा पनि यो कुनै एक स्रोतबाट फैलियो भन्ने पनि पत्ता लगायो । इरानमा धरातलीय रुपमा कन्ट्याक्ट ट्रेस गर्नेहरुले पत्ता लगाएअनुसार त्यहाँ पवित्र सहर क्यूमबाट संक्रमण फैलिएको पाइयो । क्यूममा हरेक दिन हजारौं धार्मिक पर्यटक पुगिरहेका थिए । दुई साताभित्र कोरोनाभाइरस संक्रमण क्यूमबाट इरानको प्रत्येक प्रान्तमा पुग्यो ।

कन्ट्याक्ट ट्रेसिङ र जीनोमको रिमोट ट्रयाकिङका माध्यमबाट वैज्ञानिकले विश्वभर कोभिड–१९ संक्रमण फैलने तीव्रता र त्यसको तरिकाका बारेमा पत्ता लगाए । तर ६ महिनाको तमाम खोज तथा अनुसन्धानका बाबजुद हरेक पटक विशेषज्ञ टिम एक कदम पछाडि नै रहे । उनीहरुले अहिलेसम्म यो पत्ता लगाउन सकेका छैनन् कि कोरोनाभाइरसको आगामी हमला कहिले र कहाँ हुन्छ ? कोभिड–१९ भाइरसलाई लिएर एउटा ठूलो समस्या अहिलेसम्म कायमै छ– मानिस एक अर्कासँग सम्पर्कमा आएको अवस्थामा फैलने यो संक्रमण हेर्दाहेर्दै घातक बिमारीका रुपमा परिणत हुन्छ तर कयौं पटक संक्रमित मानिसमा सामान्य वा निकै न्यून लक्षण हुन्छ ।

कुनै लक्षणविनाका संक्रमितबाट कोभिड–१९ संक्रमण फैलनेबारेको जाँच निकै मुस्किल छ । यद्यपि उत्तरी इटालीको एउटा सानो गाउँबाट यसबारे पनि निकै महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।

कति ठूलो छ अदृष्य खतरा ?

इटालीमा कोभिड–१९ बाट पहिलो मृत्यु कुनै हलचलले भरिएको सहरमा भएको होइन, भेनेटो क्षेत्रको दुरदराजमा रहेको सानो गाउँ ‘वो’ मा भएको थियो । करिब तीन हजार जनसंख्या भएको यो गाउँ राष्ट्रिय पार्क इयूगेनियन हिल्स छेउमा छ र भेनिसबाट मात्र एक घण्टाको दूरीमा छ ।

२१ फेब्रुअरीमा यो गाउँमा कोभिड–१९ बाट पहिलो मृत्यु भयो । त्यसपछि स्थानीय अधिकारीहरुले पुरै गाउँको सीमा बन्द गरिदिए । त्यसपछि गाउँका सबै नागरिकको स्वाब कयौं पटक परीक्षण गरियो, चाहे कसैमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको किन नहोस् । वैज्ञानिक रुपमा यो अवसरजस्तै थियो किनकि लकडाउनमा बसेका हजारौं मानिसको कयौं पटक परीक्षण गरिएको थियो ।

यो परीक्षणका माध्यमबाट नै माइक्रोबायोलोजिस्ट एसोसिएट प्रोफेसर एनरिको लावेज्जो महत्वपूर्ण नतिजामा पुगे । उनी आफ्नो अध्ययनको सबैभन्दा महत्वपूर्ण हिस्सालाई कोभिड–१९को ‘साइलेन्ट स्प्रेड’ भन्छन् । उनका अनुसार परीक्षणमा कोरोना संक्रमित पाइएका मानिसमा धेरैजसो यस्ता थिए जसमा मामुली लक्षण वा कुनै लक्षण नै थिएन । उनले भने, ‘संक्रमित मानिसमा ४० प्रतिशत मानिसलाई आफूले अरुलाई संक्रमित तुल्याउन सक्छु भन्ने ध्यान नै थिएन । संक्रमित बिमारीलाई लिएर यो गम्भीर समस्या बनिरहन्छ ।’

उनले भने, ‘लक्षण देखिएका बिरामी त आफ्नो घरमा आइसोलेसनमा बस्न सक्छन् तर विना लक्षणका मानिसहरुले सामान्य व्यवहार नै गर्छन् । उनीहरु बाहिर निस्कन्छन्, मानिसहरुसँग भेटघाट गर्छन् र अरुको निकट सम्पर्कमा आउँछन् । उनीहरुलाई थाहा हुँदैन कि उनीहरुले अरुलाई संक्रमित तुल्याउन सक्छन् ।’ उनकै समूहले सबैभन्दा पहिला विना लक्षणका मामिलासम्बन्धी सबैभन्दा ठूलो समस्या स्थापित गरेको हो । त्यसपछि अन्य अध्ययनमा पनि करिब ७० प्रतिशतसम्म संक्रमितलाई कुनै प्रकारको लक्षण नदेखिने तथ्य स्थापित भयो ।

तीन हजार जनसंख्या भएको गाउँका बासिन्दाको परीक्षणबाट अर्को मुख्य जानकारी पनि हासिल भयो, त्यहाँ १० वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिका कोभिड–१९ बाट संक्रमित पाइएन । प्रोफेसर लावेज्जो भन्छन्, ‘हामी यो भन्दैनौं कि बालबालिका संक्रमित हुँदैनन्, अरु अध्ययनमा बालबालिका पनि संक्रमित भएको पाइएको छ । तर तथ्य यो छ कि त्यस गाउँमा कम से कम दर्जनको संख्यामा बालबालिका संक्रमितका साथ बसेका थिए । तर उनीहरुमध्ये कोही पनि संक्रमित थिएनन् । यो अनौठो कुरा हो । यसलाई लिएर अधिक जाँच गर्न जरुरी देखिन्छ ।’

अन्य कोरोनाभाइरसको तुलनामा कोभिड–१९ कयौं बढी मानिसलाई आफ्नो चपेटामा लिन्छ र यो तीव्र रुपमा फैलिनुको कारण पनि यही हो । तर कोभिड–१९ यति भिन्न कसरी भयो ? यसको लक्षणमा पनि यति अन्तर कसरी भयो ? खासगरी खोकीदेखि लिएर स्वास फेर्न कठिनाइसम्म ? प्रोफेसर लावेज्जोको नतिजाअनुसार बालबालिका यति कम प्रभावित किन ?

वैज्ञानिकहरुका अनुसार कोभिड–१९ भाइरस केवल एक तरिकाबाट मात्रै मानिसमा प्रवेश गर्छ । यो मानव कोशिकाको सतहमा पाइने विशेष रिसेप्टर्स एसीई–२ को सम्पर्कमा आएर गठजोड बनाउँछ । प्रोफेसर माइक फरजानको लेबोरेटरीले सार्स संक्रमणका क्रममा २००३ मा सबैभन्दा पहिला एसीई–२ रिसेप्टर पत्ता लगाएको थियो । माइकका अनुसार एसीई–२ को अस्तित्व पुरै शरीरमा हुन्छ । हाम्रो नाक, फोक्सो, आन्द्रा, मुटु, किड्नी र दिमाग सबैतिर एसीई–२ मौजुद हुन्छ । यो यतिधेरै ठाउँमा मौजुद भएकै कारण कोभिड–२ को लक्षणमा पनि यतिधेरै भिन्नता भएको हो । यदि संक्रमण नाकमा भएको छ भने गन्ध थाहा पाउने क्षमतामा असर गर्छ । संक्रमण फोक्सोमा भएको छ भने खोकी लाग्छ ।

आमरुपमा भाइरस या त तीव्र रुपमा फैलिन्छ या त गम्भीर बिमारीको कारण बन्दछ । कोभिड–१९ भाइरस दुवै गुणमा उत्तिकै सशक्त भएका कारण यो बढी खतरनाक भएको हो । नाक र फोक्सोको माथिल्लो भागमा संक्रमण हुँदा रुघा–खोकी हुन्छ । जबकि लगातार हाच्छ्युँ गर्दा संक्रमण तीव्र रुपमा फैलन्छ । फोक्सोको तल्लो भागमा संक्रमण हुँदा स्वास लिन कठिन भइ ज्यान जानेसम्मको समस्या हुन सक्छ । वयस्कको तुलनामा बालबालिकामा कम या ज्यादा संक्रमित हुने आशंकाका बारेमा अहिलेसम्म स्पष्ट रुपमा जानकारी भइसकेको छैन ।

ब्रिटिश सरकारको आपतकालीन साइन्टिफिक एडभाइजरी समूह (एसएजेई) का अनुसार केही प्रमाण यस्ता छन्, जसबाट यो प्रमाणित हुन्छ कि बालबालिका संक्रमित हुने आशंका कम हुन्छ । उनीहरु संक्रमित भइहाले पनि उनीहरुबाट संक्रमण फैलने खतरा पनि कम हुन्छ । यद्यपि यी प्रमाणकै आधारमा कुनै निष्कर्षमा पुगिहाल्न नहुने उक्त समूहको भनाइ छ ।

प्रोफेसर फरजान भन्छन्, ‘बालबालिकामा वयस्कको तुलनामा फोक्सोको तल्लो हिस्सामा एसीई–२ रिसेप्टर्स कम हुन्छ । यसको प्रमाण वैज्ञानिकहरुले जुटाइसकेका छन् ।’ उनले भने, ‘यसबाट प्रष्ट हुन्छ कि बालबालिका संक्रमणको चपेटामा आउने आशंका कम हुन्छ । कम से कम वयस्कमा हुने गम्भीर न्यूमोनियाबाट उनीहरु बच्न सक्छन् ।’

तर बालबालिकाको फोक्सोको माथिल्लो भागमा रिसेप्टर्सको संख्या धेरै हुने भएकाले बालबालिकाबाट कोभिड–१९ को संक्रमण अरु मानिससम्म पुग्न सक्ने पनि उनले बताए । संक्रमणको प्रसारमा फोक्सोको माथिल्लो भागको भूमिका नै अहम् हुने उनको भनाइ छ । कोभिड–१९ जुन रफ्तारका साथ आफ्नो संख्या बढाउँदै फैलन्छ, त्यसबाट उसको मारक क्षमता पनि बढ्छ । ६ महिनादेखि भइरहेको जाँच र वैज्ञानिक खोजविनका आधारमा वैज्ञानिकहरुको रायअनुसार यो महामारीलाई अन्त्य गर्ने एउटै तरिका छ–भविष्यमा यसलाई रोक्नका लागि रोगनिरोधक खोपको विकास ।

खोप तयार पार्ने होड
अहिले कोभिड–१९ को खोप विकास गर्नका लागि १२४ अलग अलग समूहबीच होड चलिरहेको छ । ब्राजिलमा भइरहेको यस्तो प्रयासको नेतृत्व साओ पाओलो युनिभर्सिटीका मेडिकल डाइरेक्टर प्रोफेसर जर्ज कलिलले गरिरहेका छन् । ब्राजिल कोरोनाभाइरसको चपेटामा नराम्ररी परेको छ । त्यसका बाबजुद त्यहाँका राष्ट्रपति लकडाउनको विरोध गर्ने र्यालीमा सहभागी हुँदै आएका छन् । तर पनि क्षेत्रीय प्रशासनले देशका प्रमुख सहरमा स्थानीय रुपमा लकडाउन घोषणा गरेका छन् ।

ब्राजिलका केही समूहले सेप्टेम्बरको सुरुसम्ममा खोप तयार हुने दावी गरेका छन् । यसको उत्पादन र वितरणमा १२ देखि १८ महिना अतिरिक्त समय लाग्न सक्छ । कलिल भन्छन्, ‘हामी जति चाँडो गर्न सक्छौं, त्यति नै गति देखाउनुपर्छ । मलाई लाग्दैन कि सबैभन्दा पहिला खोप बनाउने विजयी हुन्छ, किनकि यो कार रेसजस्तो होइन । सबैभन्दा उत्कृष्ट खोप नै विजेता हुन्छ, जसले अधिकांश मानिसलाई– आदर्श स्थितिमा ९० प्रतिशत मानिसलाई कोभिड–१९को लक्षण र संक्रमणको चपेटाबाट बचाउनेछ ।’

वास्तविक रुपमा महामारी अन्त्य गर्ने हो भने वृद्धवृद्धा र कमजोर स्वास्थ्य भएकाहरुलाई प्रभावकारी हुने खोप बनाउन जरुरी हुने उनको भनाइ छ । उनका अनुसार त्यस्ता मानिसको शरीरमा एन्टीबडी विकसित हुन कठिनाइ हुन्छ । यस्तो अवस्थामा संक्रमणको चपेटामा आउनेहरुका साथसाथै सबैभन्दा कमजोर मानिसका लागि खोप प्रभावकारी नहुँदासम्म कोभिड–१९ को संक्रमण फैलिरहन्छ ।

कोभिड–१९ को आगामी हमला रोक्नका लागि सबै देशमा एकसाथ खोपको उपलब्धता सुनिश्चित गर्नुपर्ने पनि उनले औंल्याए । ‘पैसा र राजनीतिको समस्या छ,’ उनी भन्छन्, ‘साओ पाओलोमा तपाई धनी मान्छेलाई आफ्नो सुन्दर घरमा आइसोलेसनमा भेट्नु हुन्छ, तर यस्ता पनि परिवार छन् जो एउटा कोठामा आठ–नौ–दश जनासम्म बस्छन् । उनीहरुले आफूलाई कसरी आइसोलेसनमा राख्ने ?’ हरेकका लागि यो समस्या अन्त्य गर्न हामीलाई उत्कृष्ठ खोपको आवश्यकता पर्ने उनको भनाइ छ । ‘अर्को कुनै विकल्प हामीसँग छैन,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here