भारतीय प्रधानमन्त्री मोदिकै योजनामा नेपाली भूभाग डुब्ने गरि सिमा क्षेत्रमा सडक बन्दै

0
176

भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भुभाग डुवानमा पर्ने खतरा बढेको छ।

प्रदेश ५ का ५ जिल्लाका सीमामा यस्तो सडक बनिरहेको छ। नवलपरासी र रूपन्देहीमा सीमाको २०–३० मिटरमै सडक बनेको हो। रूपन्देहीको रोहिणी गाउँपालिका–५ र ६ सँग सीमा जोडिएको दशगजा क्षेत्रमा अहिले भारतले सडक निर्माण गरिरहेको छ। चार लेनको पूर्वपश्चिम सडकले नेपाली भूभाग डुवानमा पर्ने भएको हो। भारतले गत मंसिरबाट सडक निर्माण थालेको हो। बाँधकै स्वरूपमा सडक निर्माण भइरहेपछि स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्।

भारतले सीमा क्षेत्रको आठसय मिटर टाढा यसअघि नै सडक बनाएर सञ्चालनमा ल्याएको छ। अहिले दशगजादेखि २० देखि ५० मिटरको दूरीमा चार लेनको सडक निर्माण गरेको छ। यो सडक निर्माण नरोक्ने हो भने गाउँ पुरै डुवानमा पर्न सक्ने बताइएको छ।

भारतले विभिन्न स्थानमा बनाएका बाँधका कारण नवलपरासी, रुपन्देही, कपिलवस्तुका कैयौं भूमि जलमग्न हुने गरेका छन्। अहिले बनेको कतै दुई र कतै चार लेनको सडकमा कुनै पनि स्थानमा पानी निकास नराखिएको स्थानीय बताउँछन्। नेपालतर्फ जमेको पानी भारत जाने निकास नै नभएपछि डुबान निश्चित रहेको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय कानून अनुसार प्राकृतिक रूपमा वहने पानीलाई रोक्न पाइँदैन।

भारतले प्रधानमन्त्री सडक परियोजनाअन्तर्गत यो सडक निर्माण गरिरहेको हो। मंसिरबाट निर्माण सुरु भएको सडक सुरक्षामा भारतले सुरक्षा निकाय खटाएको छ। रोहिणी गाउँपालिकाका स्थानीय सञ्जय गुप्ताले लकडाउनमा केही समय निर्माण रोकिएपछि फेरि सडक बनाउन थालिएको बताए। उनले महलीसागर–खुर्दलोटन बाँधजस्तै सडक निर्माण गरेको बताए। खुर्दलोटन बाँधका कारण नेपालीले धेरै सास्ती पाएका थिए। सीमा क्षेत्रका बासिन्दाले सडकको बीचबीचमा पानीको निकास राखिनुपर्ने बताएका छन्। कल्र्भट र ह्युम पाइप अनिवार्य हुनुपर्ने उनीहरूको माग छ।

नवलपरासीदेखि रूपन्देहीसम्मको कुनै पनि क्षेत्रमा अहिलेसम्म पानी निकास राखिएको छैन। कपिलवस्तुमा सीमाभन्दा आधा किलोमिटर टाढा सडक बन्दैछ। बर्दियामा भने सीमा नजिकै रहेको छ। भारतले दशगजामा सडक निर्माणमा लिनुपर्ने सहमति बिनानै सडक बनाएको हो। सीमाबासीले डुवान हुने भएपछि सडक भत्काउने हिम्मत गर्न सरकारलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here