साग को प्रसारण अधिकार लिएका भारतीय कम्पनीले दिए खालि छेक


देश भित्रका सञ्चारमाध्यमसँग प्रत्यक्ष प्रसारण गर्ने क्षमता नभएको भन्दै गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनीलाई विक्री गरिएको थियो । साग सकिएको ५ महिना बितिसक्दा पनि सम्झौता अनुसार रकम भुक्तानीका लागि दिएको ६ ओटा चेक बाउन्स भएको जानकारी प्राप्त भएको छ ।

भारतीय कम्पनी नक्षत्र न्यूज मिडियाले ८ करोड रुपैयाँमा सागको प्रसारण अधिकार खरिद गरेको थियो । १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको थियो । प्रसारण विक्रीबाट प्राप्त हुने रकममध्य आधा साग आयोजनाको आधिकारिक निकाय दक्षिण एसियाली ओलम्पिक काउन्सिल र आधा रकम स्थानिय आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाउने बताइएको थियो ।हालसम्म सम्झौता अनुरुप एक रुपैयाँ पनि प्राप्त नभएको राखेप सदस्य सचिव सिलवालले जानकारी दिए ।

उनले रकम भुक्तानी एनओसीलाई हुनुपर्ने र त्यसबाट राखेपले पाउनु पर्ने भएकाले त्यस विषयमा एनओसीसँग पटक पटक छलफल भएको बताए । एनओसीका महासचिव श्रेष्ठले भने एनके मिडियाबाट ६ वटा चेक प्राप्त भएपनि त्यो खातामा रकम नभएको बताएका छन् ।

‘लकडाउन हुनु केहि दिन अघि उनीहरुसँग कुरा भएको थियो,’ श्रेष्ठले भने, ‘दुवै पक्ष बसेर यो विषय टुंग्याउनु पर्छ भनेका थिए । अहिले भने त्यो प्रक्रिया रोकिएको छ ।’ रकम प्राप्त नभएमा भने कानुनी प्रक्रियामा जाने श्रेष्ठले बताएका छन् । उनले भने, ‘हामी ताकेता गर्नेछौं ।

सम्झौताअनुसार एनके मिडियाले २६ वटै खेलको प्रत्यक्ष प्रसारण गर्ने बताएको थियो । प्रत्यक्ष प्रसारणका लागि प्राप्त हुने विज्ञापन को रकम भने राखेपले नै पाउने सम्झौता रहेको कार्यक्रममा बताइएको थियो ।

देशकै विभिन्न सञ्चार माध्यमसंग छलफल गरेपनि नेपालका टेलिभिजनसँग सबै खेलको प्रत्यक्ष प्रशारण गर्ने क्षमता नभएपछि एनकेलाई प्रसारण अधिकार बेचिएको कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले बताएका थिए ।

कार्यक्रममा सागमा करिब २ सय क्यामेरा प्रयोग हुने र प्रसारणको गुणस्तर पनि अन्तराष्ट्रिय स्तरको हुने दाबी गरिएको थियो । तर, दाबी अनुसार त्यस्तो केहि भएन ।

प्रसारण अधिकार बेचिएपछि राखेप निकै विवाद परेको थियो । सम्झौतामा आयोजक संस्थाका आधिकारिक फोटोग्राफर बाहेक अन्य कुनै फोटोग्राफरले फोटो खिच्न नपाउने, भिडियो खिच्न प्रतिबन्ध लगाएको थियो ।

टेलिभिजनका लागि फुटेज, पत्रपत्रिका र अनलाइनका लागि फोटोहरु सागको मिडिया सेन्टरबाटै दिने व्यवस्था गरिएको सम्झौतामा उल्लेख गरिएको थियो ।

खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबको विरोध पछि आयोजक र प्रसारण अधिकार किन्ने कम्पनी सुरुमा फोटोग्राफरलाई फोटो खिच्न दिन तयार भएका थिए ।

त्यसपछि पनि विवाद मत्थर नहुँदा स्थानिय टेलिभजिनलाई एक मिनेटको भिडियो फुटेज खिच्न दिन एनके मिडिया, राखेप, एनओसी तयार भएका थिए । तर, साग सकिएको यति लामो समय सम्म एनके मिडियाले भुक्तानी नगर्दा एनओसी र राखेप नाजवाफ भएका छन् ।
हाम्रो खेलकुदमा खबर छ ।


प्रकाशित : २०७७ जेष्ठ १, बिहीबार १८:०१ गते

धेरै पढिएको

ताजा समाचार