५५ देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध


काठमाडौं ६ चैत । सरकारले कोरोना संक्रमण (कोभिड १९) देखिएकामध्ये ५५ देशबाट नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले २० मार्चदेखि १५ अप्रिल (७ चैतदेखि ७ वैशाख २०७७) सम्म कोरोना प्रभावित देशमध्ये ५५ वटा देशबाट नेपाल आउने नेपालीसहित विदेशीमाथि प्रतिबन्ध लगाएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

जसअनुसार युरोपका सबै मुलुक, पश्चिम एसियालगायत इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाइएको छ । यो निर्णयसँगै दक्षिण कोरिया, जापान, मलेसिया, यूएई, कतारलगायत मुलुकमा वैदेशिक रोजगारीका लागि गएका नेपालीसमेत तोकिएको समयसम्म स्वदेश फर्कन पाउनेछैनन् । उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा समितिको बैठक बसेको थियो ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले करिब ५५ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको बताए ।‘संक्रमणको उच्च जोखिम रहेका करिब ५५ मुलुकबाट नेपाल आउनेमाथि प्रतिबन्ध लगाइएको हो,’ मन्त्री भट्टराईले राजधानीसँग भने ।

बैठकले ट्राभल एडभाइजरी जारी गरेको अवधिमा हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता दिन र यात्रा मिति परिर्वतन गर्दा शुल्क नलिन वायु सेवा कम्पनीलाई आग्रह गरेको छ ।

यसअघि सरकारले १८ फागुनमा चीन, दक्षिण कोरिया, इरान, इटली र जापानका नागरिकलाई नेपाल आएपछि प्रदान गरिँदै आएको अन अराइभल भिसामा रोक लगाएको थियो । यस्तै, २९ फागुनमा सबै देशका विदेशी नागरिकलाई दिइँदै आएको अन अराइभल भिसा रोक्ने निर्णय भएको थियो भने नेपाल प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको थियो ।


प्रकाशित : २०७६ चैत्र ६, बिहीबार ०९:४७ गते

धेरै पढिएको

ताजा समाचार