‘अभागी’ आर्मी र मच्छिन्द्रको ‘भाग्य’

0
93

 

काठमाडौं, १७ फागुन । फुटबलको पर्याप्त भौतिक संरचना, बाह्रै महिना तयारी र राष्ट्रिय टोलीका चर्चित खेलाडीको जमघट। यो घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको विशेषता हो। तर, उपलब्धिका हिसाबले आर्मीको फुटबल त्यति गर्विलो छैन।

पछिल्लो समय नकआउट फुटबलमा राम्रो गरिरहेको आर्मीले नयाँ संरचनाको घरेलु लिगको उपाधि जित्नै सकेको छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आर्मीको उपस्थिति खासै देखिन्न। जब कि आर्मीको भन्दा कमजोर खेलाडी र संरचना भएका क्लबले ‘ए’ डिभिजन लिगको स्वाद चाखिसकेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफूलाई परिष्कृत बनाइसकेका छन्।

खेल र खेलाडीको तुलनामा आर्मीकै स्तरमा रहेर पनि घरेलु फुटबलमा नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लबले उल्लेख्य सफलता हात पारिसकेका छन्। लिग फुटबलमा पुलिस, थ्रीस्टार र मनाङको सफलताको इतिहास गर्व गर्नलायक छ। यस वर्ष मच्छिन्द्रले आफूलाई ठूला र सफल क्लबकै हैसियतमा उभ्याएको छ। तर समान हैसियतको आर्मीले अहिलेसम्म लिग उपाधिबाट टाढा छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले चार वर्षदेखि रोकिएको लिग गत वर्षदेखि सुरु गरेको थियो। एन्फाले गत साल रेलिगेसनबिनाको सहिद स्मारक ‘ए’ डिभिजन लिग गरेको थियो। रेलिगेसन बिनाको लिग भएकाले प्रतिस्पर्धी टोलीले राम्रा खेलाडी अनुबन्ध गरेका थिएनन्। यसको बढी फाइदा विभागीय टोली आर्मीलाई थियो। आर्मीले गत वर्ष पनि चौथो स्थानमा चित्त बुझाएको थियो।

आर्मीलाई गत वर्षभन्दा यस पटकको लिग दुर्भाग्यपूर्ण बन्यो। उपाधिको मुखमा पुगेको आर्मी अन्तिम खेलमा आत्मघाती गोलले डुब्यो। जसले अन्तिममा पुगेर मच्छिन्द्रलाई उपाधि सुम्पन बाध्य बन्यो। आर्मीलाई उपाधि जित्न अन्तिम खेलमा मच्छिन्द्रलाई बराबरी गरे पुग्यो। मच्छिन्द्रलाई भने जित्नैपर्ने बाध्यता थियो। अन्तिम खेलमा जब आर्मीका विकास तामाङले बचाउने क्रममा गरेको हेड प्रहारले आत्मघाती गोलको बाटो लियो। तब आर्मीको सपना चकनाचुर भयो। यसैमा मच्छिन्द्रको भाग्य खुलेको थियो।

आर्मीलाई २०६३ सालको लिगमा पनि यस्तै दुर्भाग्य भएको थियो। लिगको अन्तिम खेलमा आर्मीलाई उपाधि जित्न पुलिसलाई बराबरी गरे पुग्थ्यो। त्यति बेलाको अन्तिम खेल पनि आर्मीले २–० गोलले गुमायो र पुलिस विजेता बन्यो।

आर्मीका खेलाडी त्यो बेला रुँदै मैदानमा ढलेका थिए। यसपटक पनि आर्मीका खेलाडीले पुरानै नियति दोहोर्‍याए। च्याम्पियनको मुखमा पुगेको आर्मीको सपना आत्मघाती गोलमै गुमेको थियो। लिगअघि आर्मीलाई च्याम्पियन बनाउँदै नयाँ इतिहास रच्ने दाबी गरेका प्रशिक्षक नवीन न्यौपानेले कमजोर टोलीसँग राम्रो खेल्न नसक्दा उपाधिबाट टाढा रहेको बताए। ‘यस पटक उपाधिको नजिक थियौं। तर अन्तिम खेलमा आएर दबाब लिँदा अभागी बन्यौं। बीचमा नसोचेको टोलीसँग रोकिनु अर्को कमजोरी थियो’, नवीनले भने।

टोलीलाई लिग जिताउने सपना बुनेका आर्मीका कप्तान भरत खवासले पनि सपना अधुरै रहेको बताए। ‘व्यक्तिगत रूपमा उत्कृष्ट स्ट्राइकर बने पनि मेरो लक्ष्य त्यो थिएन। यसपटक आफ्नो कप्तानीमा आर्मी च्याम्पियन बनेको देख्ने धोको थियो। उपाधि जित्न नसक्दा दुःख लागेको छ। फाइनलमा हामीले सोचेजस्तो खेल्न सकेनौं। मलाई उपाधि जिताउने जिम्मेवारी थियो। त्यो पूरा गर्न सकिएन। दबाब नलिनुपर्नेमा सबै खेलाडीले दबाब लिए जस्तो भयो। हामीले फाइनल र उपाधिका लागि खेल्नुपर्ने खेल खेल्न सकेनौं’, भरतले भने।

विक्रम संवत् २०११ सालमा नरशमशेर जबराले शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनमा ल्याएका थिए। आर्मी–११ टोलीले २०१२ सालमा उपाधि जितेको थियो। बर्सेनि हुनुपर्ने लिगले निरन्तरता भने पाएन। हालसम्म १५ क्लबले लिग जितिसकेका छन्। लिगमा सर्वाधिक सफल टोली मनाङ हो। मनाङले आठ पटक लिग उपाधि जितेको छ। त्यसपछि रानीपोखरी कर्नर टिम ‘आरसीटी’ले ६ पटक, थ्रीस्टार र नेपाल पुलिस क्लबले समान पाँच/पाँचपटक लिग जितेका छन्।

यसैगरी एनआरटीले चारपटक, महावीर र संकटाले तीन÷तीनपटक, अन्नपूर्ण फुटबल क्लब र देउराली क्लबले दुई÷दुईपटक, विद्या व्यायाम, फ्रेन्ड्स, ब्वाइज युनियन, सुनाखरी एथलेटिक्स र मच्छिन्द्र क्लबले एकरएकपटक लिगको उपाधि जितेका छन्। लिग जित्ने कतिपय पुराना क्लब अहिले अस्तित्वमा छैनन्। एन्फाको विवादका कारण २०७१ देखि २०७४ सम्म शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको थिएन।

यसपटक राम्रा खेलाडीको साथ पाएको मच्छिन्द्रले अन्तिम खेलमा पुगेर लिग जितेको थियो। मच्छिन्द्रले पहिलो पटक लिग च्याम्पियन बन्दै कीर्तिमान रच्यो। फुटबलमा सफलता पाउन ठूलो आर्थिक लगानी र स्टार खेलाडीको साथ पनि चाहिन्छ। यसपटक मच्छिन्द्रले दुवै कुरामा ध्यान दियो। स्टार खेलाडीको जमघटसँगै मच्छिन्द्रले फुटबलमा नयाँ गोरेटो पनि कोरेको छ। ५० लाख रुपैयाँ पुरस्कारको लिग जितेको मच्छिन्द्रले एक साताको बीचमा झापामा सताक्षी गोल्डकप फुटबलको उपाधिसमेत जितिसकेको छ। मच्छिन्द्रको उपाधि यात्रा अझै लामो रहने देखिन्छ।

तर मच्छिन्द्रलाई यहाँसम्म आउन गत वर्षको लिगले पनि पाठ सिकाएको हो। एन्फाले गत वर्ष रेलिगेसनको लिग गरेको भए मच्छिन्द्र अहिले ‘बी डिभिजन’ खेलिरहेको हुन्थ्यो। मच्छिन्द्रले गत वर्ष अन्तिमबाट दोस्रो स्थानमा लिग सकेको थियो। एन्फाले रेलिगेसनको प्रावधान नराखी मच्छिन्द्रको एक अंक घटाउने नियम बनायो। त्यसैले यसपटक मच्छिन्द्रले सुरुमै एक अंक ऋणमा खेलेको थियो।

मच्छिन्द्रले फुटबलमा टिक्न मनाङमा सातजना स्टार खेलाडीलाई टोलीमा समावेश गरेको थियो। खेलाडी र लिग व्यवस्थापनका लागि मात्र एक करोड लगानी गरेको क्लबका व्यवस्थापक अनिल श्रेष्ठ बताउँछन्। मच्छिन्द्रले च्याम्पियन बन्नका लागि बनाएको योजना र शैलीलाई कायम राख्दै आगामी दिनमा अधिकतम उपाधि जित्ने दाबी पनि अनिलले गरे।

मच्छिन्द्र क्लब २०२८ सालमा सामाजिक कार्यका लागि स्थापना भएको थियो। तर पछिल्लो समय मच्छिन्द्रलाई फुटबलबाट बढी चिनिन थालेको छ। २९ वर्ष ‘बी’ डिभिजनमा बिताएको मच्छिन्द्र २०६२ सालमा ‘ए’ डिभिजनमा उक्लिएको थियो। त्यसपछि २०७० सालमा ‘ए’ डिभिजन उपविजेता बनेको मच्छिन्द्र अहिले नेपालको सक्षम क्लबमा गनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here