सभामुखमा सुवास नेम्वाङको विकल्प नखोज्न प्रचण्डलाई ओलीको आग्रह

0
200
mcc

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

सभामुखकै विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान प्रधामनन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा ओलीले सभामुखमा सुवास नेम्वाङको विकल्प नखोज्न प्रचण्डलाई आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले सभामुखमा नेम्वाङको नाम प्रस्ताव गर्नुभयो, अर्का अध्यक्षले त्यसो नगरौं भन्नुभएको छ’ नेकपा स्रोतले भन्यो ।

सभामुखका लागि व्यक्तिका विषयमा दुई अध्यक्षबीच पहिलोपटक छलफल भएको नेकपा नेताहरुको भनाइ छ ।

यसअघि प्रचण्डले सभामुख आफूले प्रस्ताव गर्ने भने पनि व्यक्तिबारे छलफल भएको थिएन ।

तर सभामुखबारे पार्टीमा दुई अध्यक्षबीच सहजै समझदारी हुने सम्भावना आफूले नदेखेको नेकपाका एक सचिवालयल सदस्यले प्रतिक्रिया दिएका छन् । उनले भने–प्रधानमन्त्री सुवास नेम्वाङको विकल्पमा जाने पक्षमा हुनुहुन्न । प्रचण्डले मलाई अप्ठ्यारो पर्‍यो भन्नुभएको छ । सायद प्याकेजमै सहमति होला ।’

उनकाअनुसार सभामुख चयनसँगै मन्त्रिपरिषद पुनर्गठनमा अध्यक्ष प्रचण्डको समस्या फुकाउने र राष्ट्रियसभा सदस्य चयनमा उम्मेदवारहरु मिलाउने सम्भावना छ ।

दुबै पक्षको आ आफ्नो दाबी

दुई अध्यक्षबीच समति नभएपछि नेकपाका दुवै पक्षले एकले अर्कोलाई सहमतिबाट पछि हटेको आरोप लगाएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेटिएका पूर्वएमाले समूहका एक नेताले सुवास नेम्वाङलाई सभामुख बनाउने समझदारीबाट प्रचण्ड एकाएक पछि हटेको दाबी गरे ।

जबकी पूर्वमाओवादी पक्षले भने सभामुखमा पूर्वएमालेको दावी नै राजनीतिक रुपमा अनैतिक हुने बताएको छ । पार्टी एकताअघि राज्यसत्ताका मुख्य पदहरु बाँडफाँट गर्दा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख तत्कालिन एमालेले पाएको थियो ।

त्यस्तै उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष तत्कालिन माओवादीले पाएको थियो । सरकारमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा पनि तत्कालिन एमालेबाटै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई स्वीकार गरेको भन्दै पूर्वमाओवादी नेताहरुले अब सभामुख पनि छाड्नु भनेको सम्मानजनक एकता होइन आत्मसमर्पणको सन्देश जाने टिप्पणी गरेका छन् ।

प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यकाअनुसार केही दिनअघि मात्र पूर्वमाओवादीका नेताहरुले प्रचण्डलाई भेटेरै सभामुख नछाड्न दबाव दिएका तिए । ‘ओलीजी कुनै हालतमा नेम्वाङलाई सभामुख बनाउन चाहनुहुन्छ । माधवकुमार नेपालको भूमिका पनि नेम्वाङ हुँदा ठिकै छ भन्ने खालको देखियो’ एक नेता भन्छन्, ‘यस्तो अवस्थामा प्रचण्डमाथि कार्यकारी अध्यक्ष भएपछि पूर्वसमूह समातेर बस्न हुँदैन भन्ने दबाब छ । तर हामीले सभामुख नछाड्न भनेका छौं ।’

पूर्वमाओवादी पक्षले केही थान मन्त्रीमा सभामुख पद सौदाबाजी नगर्न समेत प्रचण्डलाई दबाब दिएका छन् । पूर्वमाओवादीले पाएको पदमा पूर्वएमालेले दावी गर्नु नै गलत रहेको उनीहरुको तर्क छ ।

पूर्वमाओवादीबाट सभामुखमा अग्नि सापकोटा अघि सार्न प्रचण्डलाई ठूलो दबाब छ । सापकोटाको नाममा सहमति नभए बरु ओनसरी घर्ती वा अन्य कुनै नाम दिन सकिने तर सभामुख पद छाड्न नसकिने प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताए । तर अध्यक्ष प्रधानमन्त्री ओली भने संसद झनै पेचिलो हुने भएकाले नेम्वाङले सबै दललाई मिलाउन सक्ने तर्क गरेका छन् ।

संसद सूचना टाँसेर स्थगित

नेकपाका दुई अध्यक्षको छलफल विनना निष्कर्ष टुंगिएलगत्तै भोलिका लागि बोलाइएको संसद स्थगित भएको सूचना आएपछि मात्र थाहा पाएको एक नेताले बताए ।

संसदको बैठक भोलि बोलाइएको थियो । यो बैठकले सभामुख निर्वाचनको कार्यतालिका पेश गर्नुपर्ने थियो । अब यो १२ दिनका लागि पर धकेलिएको छ । संसदको हिउँदे अधिवेशन पुस ४ मा सुरुमा भएको थियो । त्यसपछि ११ गते बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर नै स्थगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here