पाल्पामा श्रीमद् भागवत तथा गणपति महाअनुष्ठान २०७५ सुरु

0
82

पाल्पा, फागुन १ । तानसेन १०,गुफाचौरमा गणेशधाम बनाउने उद्देश्यले बुधबारदेखि तानसेन १० तेल्घाको वडा कार्यालय परिसरमा महाअनुष्ठान सुरु भएको छ । गणेशधाम बनाउने उद्देश्यका साथ सुरु भएको महाअनुष्ठानको उद्घाटन पूर्व उद्योगमन्त्री तथा संघीय सांसद सोमप्रसाद पाण्डेले गर्नुभयो । कार्यक्रममा बोल्दै पाण्डेले धार्मिक अनुष्ठान जस्ता कार्यले मानिसलाई आत्माअनुशासन बनाउन सहयोग पुग्ने बताउनुभयो । पूर्वमन्त्री पाण्डेले गुफाचौरलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न सुरु भएको महायज्ञले सहयोग पुग्ने विस्वास ब्यातm गर्नुभयो । आफूले सुरुदेखि नै गणेशधाम बनाउन सहयोग गर्न क्रियाशिल भएको बताउँदै पाल्पाको धार्मिक धरोहरलाई संरक्षण गर्दै गुरुयोजना बनाएर समग्र जिल्लाको विकासमा लाग्नुपर्नेमा वाहाले जोड दिनुभयो ।

कार्यक्रममा बिश्वविख्यात कथावाचक इश्वरकृष्ण महाराजले धार्मिक कार्यक्रमको माध्यमबाट पाल्पाको पर्यटन विकास गर्न सकिने धारणा राख्नुभयो । उहाँले सबैको इच्छा र चाहना अनुसार तेल्घाको गुफाचौरमा भगवान गणेशको मूर्ति स्थापनामा लागेको जानकारी दिदैँ सबैले यो महान धार्मिक कार्यमा सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । आम पाल्पाबासीको सानोतिनो सहयोगबाट पनि गणेशधाम बनाउन सकिने बताउँदै उहाँले तुलादान, लड्डु र दूबो अर्पण कार्यमा सहभागी हुन सबै नेपालीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका प्रतिनिधि एकप्रसाद भण्डारी, नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, राप्रपाका प्रतिनिधि रेवन्तबहादुर विष्ट, पाल्पाका प्रमूख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले गणेशधाम स्थापना गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

महायज्ञ सञ्चालन हुनुअघि पाल्पाको प्रभास, बाँसटारी, भालेबास, सूर्यकुण्ड क्षेत्रमा कलशयात्रा गरिएको थियो । कार्यक्रम यज्ञ सम्पादन समितिका संयोजक गोपाल प्रसाद श्रेष्ठको अध्यक्षता, सहसंयोजक लोचनप्रसाद तिमिल्सिनाको स्वागत र सचिव मोहनलाल गैरेको सञ्चालनमा भएको थियो । कार्यक्रममा सबै महानुभावहरुलाई तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले धन्यवाद दिनुभएको थियो । महायज्ञ आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने छ ।

महायज्ञमा सवा करोड लड्डु र तीन करोड दूबो अर्पण गरिनेछ भने इश्वरकृष्ण महाराजको नेतृत्वमा संगीतमय श्रीमद्भागवत वाचन हुनेछ । यस्तै ५० वर्ष पुगेका भक्तहरुको सामूहिक तुलादान, प्रत्येक दिन श्रीगणेश अथर्वशीर्ष, १ हजार ८ पारायण लगायतका कार्यक्रमहरु हुने आयोजक समितिका सहसंयोजक लोचनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here