रोशन परियारको तीन कविता !!

0
87
रोसन परियार /रोशन परियार
roshan pariyar
रोशन परियार

पिता लक्ष्मी परियार र माता कृष्णमाया परियारको सुपुत्रको रुपमा २०३८ साल असार २६ गते पाख्रीबास -४, धनकुटामा जन्मिएका रोशन परियार साहित्य तथा समाजसेवामा आफ्नो रुची रहेको बताउछन् ।

एस.एल.सी सम्मको अध्ययन सकेका रोशन पाख्रिबास साहित्य समाजका अध्यक्ष पनि हुन् । टेलरिङ पेशामा संलग्न रोशनको सियोको दुरबिन(कविता संग्रह) प्रकाशित छ। ५१ कविता समेटिएको उक्त संग्रह २०७३ को असारमा साहित्य विज्ञान प्रतिष्ठान, काठमाडौंले प्रकाशनमा ल्याएको हो ।

समकालीन नेपालि कविताको अवस्थाको वरिपरी रहेर हामीले उहाँसँग थोरै कुराकानी गरेका छौं । प्रस्तुत: छ उक्त कुराकानीको संक्षिप्त अंश:-

 

कविता कुनै जात, धर्म, लिङ्ग, पेशा वा कवि बाँचेको समाज या समुदायको हुनु हुदैन। भलै कविता व्यक्ति बाटै लेखिन्छ तर कविता व्यक्ति होइन।

समकालीन कविता लेखन क्षेत्रमा “आधुनिक शैली, पहिचानवादी या भन्नुहोस मौलिक कविताहरु लेखिदै आएको छ र अझ लेखिनुपर्छ, यसलाई निरंतरता दिनुपर्छ”, भन्नेहरु छन् । मौलिकताका समस्याहरु पनि भेटिरहेका छौं जस्तै: किर्तिम प्रदशन, मौकावादिता, जडता, अराजकता, उच्छृङ्खलता,निरुद्देश्यता आदि । मौलिकताको उद्देश्य के हुन् ? तपाईलाई तपाईंको कविता मौलिकता के हो जस्तो लाग्छ ?

पहिचान र मौलिकताको प्रश्न आफैमा गम्भीर कुरो हो। यसको गाम्भिर्यतालाई मनन गरेर कविताको ऐतिहासिक स्थायित्वलाई आजसम्म पनि अध्ययन गरिदै आइएको छ र अबको भविष्यमा पनि यी बिषयहरुको अध्ययन निरन्तर गरिने नै छ र गरिनु पर्छ पनि।

म आफ्नै उदाहरण प्रस्तुत गर्न चाहन्छु। जस्तो कि मैले सियोको दुरबिन लेखिरहँदा जातियताको प्रसङ्गलाई कवितामा खोजियो। आज भन्दा अगाडि देखि पुर्खाहरुको पेशा सँग जोडेर कवितालाई हेरियो र जात अनि पेशाको आधारमा निकै टीकाटिप्पणी हरु गरियो। गरिनुपर्छ टीकाटिप्पणी हरु राम्रो को पनि र नराम्रो को पनि। तर छालाको रंग हेरेर होइन। धर्मको च्यादर ओढेर होइन।लैङ्गिकताको तुलनात्मकताले होइन। विभेदकारी चिन्तन र व्यवहारले होइन। मैले सामाजिक सञ्जालमा एक दुई वटा प्रयोग गरिरहँदा पहिचान र पहिचानवादीहरु लाई एक हदसम्म चिन्ने अवसर पाएँ। तर पहिचानको प्रश्न यति कडा पनि नबनाइयोस्। मौलिकताको मुद्दा यसरी चर्को रुपमा पनि नउठाइयोस्। जब यी र यस्तै प्रकारका बिषयहरुलाई कविको पहिचानसँग तुलना गरिन्छ तब कविता व्यक्तिको कठघरामा उभिन्छ। कविता कुनै जात, धर्म, लिङ्ग, पेशा वा कवि बाँचेको समाज या समुदायको हुनु हुदैन। भलै कविता व्यक्ति बाटै लेखिन्छ तर कविता व्यक्ति होइन।

समकालीन नेपाली कवितामा केही कविताहरु सुनामी बनेर कालान्तर सम्म याद छोड्ने गरि आएका छन्। केही कविता हरु भूकम्प जस्ता भयानक दस्तावेज बनेर लेखिएका छन्।केही कविताहरु हुन्नरी बनेर असर छोड्न खोजिरहेका छन् भने केही खहरे बनेर उर्लिरहेका र बिजुली चम्के जस्ता छन्। यसको मतलब यस्तो पनि बुझेको छु मैले कि कविताको क्षेत्र व्यापक बनेको छ।कविताका पारखी र पाठकहरुको बृद्धि भएको छ। म स्वयम् कविताको एक पाठक हुँ ।

राज्यले प्रत्येक बर्ष एउटा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गर्नु पर्छ र नेपाली कवि र कवितालाई प्रस्तुत गर्नु पर्छ। विश्व स्तरका कवि र विश्व स्तरका नेपाली कविता छन् नेपालमा।

नेपाली कवितामा बौद्धिक कोमलता, भावानात्मक तिव्रता, कलात्मकता भरपुर भेटिन्छ । र, पनि हाम्रा कविता हाम्रै छिमेकी देश भारतसम्मले सुनेको छैन/पढेको छैन । हामी कहाँ नेर चुकिराछौ ? कि अर्को कुनै त्यस्तो तत्वको अभावले नेपाली साहित्य नेपाल बाहिर पुगिरहेको छैन ?

यहाँ सबै भन्दा मूल बिषय मानवता हो जस्तो लाग्छ। हामीले कविता लेखिरहँदा मान्छे एउटै हुन् र मानवता एउटै हो भनेर लेख्यौ, लेखिरहेकै छौ। सहमत छु म तपाईंको प्रश्न मा कि नेपाली कवितामा प्रचुर कोमलता भेटिन्छ। भयङ्कर कलात्मकताले सजिएका कविता पनि छन्।  हामीले पढ्दै गरेका र पढिरहेका थुप्रै कवि र कविताहरु अन्तर्राष्ट्रिय स्तरका छन्।  तथापि नेपाली विम्वमा लेखिएका कविताहरुले सिङ्गो मानव जगतलाई प्रतिनिधित्व गर्न सकिरहेको छैन कि जस्तो लाग्छ। कुनै पनि भूगोलको सिमाना भित्र बसेर कविता लेखिरहँदा सिमाना भन्दा बाहिरको अर्को भूगोलमा पनि मानव जगत छ भनेर महशुस गर्न नसक्नु पनि हाम्रो कमजोरी हो कि जस्तो लाग्छ। जस्तो कि नेपाली पेटमा लाग्ने भोक, नेपाली आँखामा लाग्ने निन्द्रा, नेपाली शरिरमा लाग्ने लाज, नेपाली माटोमा पाइने सुगन्ध, नेपाली मनको पीडा, नेपाली मुटुको रगत, नेपाली आँशुका ढिका, नेपाली ओठका मुस्कान या त नेपाली मानव संवेदनाका यावत कुराहरु फरक देशमा पनि हुन्छ र त्यहाँका मानिसहरुको जीवन भोगाई पनि उस्तै हो भनेर महशुस नगर्नु पनि हाम्रो कमजोरी हो कि जस्तो लाग्छ।

जस्तो कि कवितालाई कविको जीवन स्तर सँग तुलना गर्नु। जस्तो कि म वादको सोंच र चिन्तनमा परिवर्तन नदेखिनु।

कविताका अभियान्ताहरुको कमी हुनु। राज्यले समग्र साहित्यमै कुनै लगानि नगर्नु आदि। सँगसँगै हामी अन्तर्राष्ट्रिय स्टेजमा कविता सुनाउन पाउँदा संसारै जितेको महशुस गर्छौं तर नेपाली माटोमा अन्तर्राष्ट्रिय कवि र कविताको स्टेज बनाउनु पर्छ भनेर सोच्दैनौ। हामी आफैले अथवा यो राज्यले सम्पूर्ण नेपालीबाट साहित्यको उन्नयनका लागि दैनिक एक रुपैया जम्मा गर्ने हो भने नेपाली कविता अन्तर्राष्ट्रिय क्षेत्रमा कसो नपुग्ला त ??  अर्को कुरा राज्यले प्रत्येक बर्ष एउटा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गर्नु पर्छ र नेपाली कवि र कवितालाई प्रस्तुत गर्नु पर्छ। विश्व स्तरका कवि र विश्व स्तरका नेपाली कविता छन् नेपालमा।

“दुई चार पङ्तीको कवितामा काव्यको आत्मा मूर्त गर्न सकिन्छ ।” उन्नाइसौं शताब्दीको विदेशी कविहरुको शब्दावली यस्तो थियो । समकालीन नेपाली कविता लेखन कार्यमा पनि सो भेटिन्छ । नेपाली शब्दकोष पातलो भएर छोटो कविता लेखनले तिव्रता पाएको हो कि प्रतिक वादी विचारहरु छोटो कविता मै अटाउन सकिने भएको हो ? तपाईंको विशेषत: मैले लामा कविता पढेको छु । छोटा कविता नलेख्नु कारण के हो तपाईंको ?

स्वीकार्य छ तपाईको कुरो। गतिशिल समयले मानव जीवनको गति सँग सँगै काव्यिक क्षेत्रमा पनि केही हदसम्म प्रयोग र प्रगति भएको छ। छोटा हुन् या लामा हुन् तर कविताहरु कविता जस्ता हुन्। मैले लेख्ने कविता छोटो भयो या लामो भयो भन्ने बिषय ठूलो होइन। कविता चाहि कविता जस्तो भयो कि भएन भन्ने कुरो मुख्य हो।यद्यपि कविले आफूलाई छोटो ठाउँमा अटाउँछ या लामो ठाउँमा अटाउँछ यो उसको कुरा हो। जहाँ अटाए पनि कविता अट्नु पर्छ भन्ने मान्यता हो मेरो र म कोशिश गरि नै रहेको छु।

जस्तो कि तुर्की का कवि “नाजिम हिकमत रान” का कविता। जस्तो कि मेक्सिकन कवि “ओक्टाभियो पाज” का कविता। जस्तो कि अमेरिकन कवि “एलेन गिन्सबर्ग” का कविता।जस्तो कि इरानी कवि “फरोग फारुख्जाद” का कविता। जस्तो कि सिरियाली कवि “निजार कब्बानी” का कविता। जस्तो कि उरुग्वेली कवि “डेलमिरा अगस्तिनी” का कविता। विश्व चर्चित यी कविहरुका कविता छोटा हुन् र ??

 प्रस्तुत छ उहाँको तीन कविता:-


पारदर्शी सिसाको झ्याल लगाए

दुनियाँको तमासा देखियोस् भनेर

बाक्लो सिसाको ढोका लगाए

आफ्नो आवाज बाहिर नजाओस् भनेर

भित्ताहरुमा कालो सिसा लगाए

अरुले तमासा नदेखुन् भनेर

बडो मिहिनेतले बनाई दिए सिसाको महल कालीगढहरुले

कालीगढ” रोशन परियार 

 

दाँतले फलाम टोकेर हातमा गुलाफ बोक्ने

ए गौंथली मान्छे

दिलमा सिसा राख्दैमा चरित्र छर्लङ्ग देखिदैन

यहाँ पत्थरहरुको निर्यात हुन्छ

भगवानहरुको आयात हुन्छ

पत्थर देखेरै पनि भोक अघाउँछ

किनकी त्यो मेरै माटोको हो

भगवान निलेर पनि भोकै भइन्छ

यो कुरा भगवान बनाउने ति कालीगढहरुलाई थाहा छ

 

पारदर्शी सिसाको झ्याल लगाए

दुनियाँको तमासा देखियोस् भनेर

बाक्लो सिसाको ढोका लगाए

आफ्नो आवाज बाहिर नजाओस् भनेर

भित्ताहरुमा कालो सिसा लगाए

अरुले तमासा नदेखुन् भनेर

बडो मिहिनेतले बनाई दिए सिसाको महल कालीगढहरुले

अनि आफूले पाएको ज्याला बाट

एक थान गुलेली र केही थान मट्याङ्ग्रा किनेका छन्

 

माटो पकाएर धुँवा खाएका

एक हुल मजदुरहरुको फोक्सो गालेर

उसिनेको इटा जोडेर पर्खाल लगाउने लाई

कट्मेरो ज्यालाको अगुल्टो दिनु हुदैन थियो

गर्जो नटर्ने भए पछि

कालीगढहरुले गैंती र झम्पल किनेका छन्।।

 


बाढी पसेर अगेनो चिसो भो

हुरी पनि बेस्सरी चल्दैछ

झ्यापझुप्पै टुकी पनि निभाइदियो

कोलाहल मच्चिएको छ

दुई जिउकी गोठु लाई कता सार्नु

सुत्केरी मने की आमालाई कहाँ लैजानु

“नोकर” रोशन परियार 

 

ढुङ्गामा ठोकियो कि सिसाले काट्यो

रगतका पाइला टैक्दै छोरो आएको छ

आँशुको औषधी बनाएर घाउ सफा गरिदिदै छु

गाउँको गोरेटो खुल्लै छ तर नेपालको बाटो बन्द छ

छोराको खुट्टा भन्दा धेरै मेरो कलेजो चोक्टिएको छ

कलेजो कै छेऊ च्यातेर घाउमा पट्टि बाँधि दिएको छु

हिक्क हिक्क गर्दै घरको खबर सुनाएर

फोन राखिन्

जति बेला मालिकको जुत्ता पालिस गर्दै थिएँ म

मन लाग्यो आँशुको मलमलले अझै टल्काई दिउँ

 

पापी हुन् ति अपराधी हुन्

यस्ती नाबालक छोरीको शरिर लुछेर

आफ्नो प्यास मेट्ने भोका कुकुरहरु

यति बोल्ने बित्तिकै फोन काटियो

जति बेला मालिकको घरमा पालिएको छाउरी कुकुरको अंगरक्षक भएर बसेको थिएँ म

मन लाग्यो छाउरी कुकुरलाई छुने बतास रोकिदिउँ

 

लट्टा परेका कपाल भित्र काँइयो छिर्दैन

सेउती खोलाको किनारमा साबुन पाइदैन

गुन्यु बेरेर नुहाउँदा घाम लजाउँछ

मेरो राजा म के गरुँ ?

मैले जवाफ दिन सकिन

जति बेला मालिक्नी साइबाको जुठो पेटिकोटमा साबुन दल्दै थिएँ म

मन लाग्यो पेटिकोटको इजारमा एउटा दरिलो गाँठो बाँधिदिउँ

 

ए राजा

सुन्नु न

बाढी पसेर अगेनो चिसो भो

हुरी पनि बेस्सरी चल्दैछ

झ्यापझुप्पै टुकी पनि निभाइदियो

कोलाहल मच्चिएको छ

दुई जिउकी गोठु लाई कता सार्नु

सुत्केरी मने की आमालाई कहाँ लैजानु

ओथारा बसेकी डिम्बाकी माउको खोर भत्कियो

बाहाँ कसेका जुइनाहरु चुँडिन थाले

आधा आँगन भत्किएर पहिरो जान थाल्यो

हामी के गरौं ??कहाँ जाऔं ??

 

चट्याङ पड्केको आवाज आयो

फोन च्वाट्टै काटियो

मन च्यातिएर टाल्नै नमिल्ने गरी धुजा धुजा भयो

जति बेला मालिकको बैठक कोठामा

सिङ्गो नेपालको नक्शा टाँस्दै थिएँ म

मालिकले ईशारा गर्दै काँटी ठोक्न लगाउनु भो

मैले होशियारीका साथ काँटी भसाई दिएँ

जहाँ काँटी पूरै भासियो

हो त्यहीँ गाउँ मेरो थियो

हो त्यहीँ नेर मेरो घर थियो ।।

 


यो मुख मेरो होइन

जो लास निलेर अघाउँछ भने

कसैको वेदना तनतनी चुसेर

उसैका सामु पीडाको खिल्ली उडाउँदै हाँसिदिने,

कसैको प्रगाढ ममता र स्नेह लुटेर

धारिलो जिब्रोले आत्मियताको निर्मम हत्या गर्छ भने

“THE MY” रोशन परियार 

 

आज सम्म यी आँखा मैले

मेरो भन्नै सकिन

जो दुनियाँ सँग हरदम समागम गर्छ र गर्भवती हुन्छ

अनि आफैं थन्किन्छ कालो टोड्का भित्र

ओथारा बसेर काड्छ, लाखौं बुंदहरुको बाक्लो डिम्मा

यी आँखा भन्दा शालिन बलात्कारी

अरु हुनै सक्दैनन्

मेरो आँखाबाट दृश्य खोसिए पछि

THE MY EYE भन्नै सकिनँ

 

बाँच्नको लागि खानै पर्ने कि

खान कै लागि बाँच्न पर्ने ??

मूर्दाघाट बाट उडेको नुनिलो धुवाँ खानै पर्ने हो भने

यो मुख मेरो होइन

जो लास निलेर अघाउँछ भने

कसैको वेदना तनतनी चुसेर

उसैका सामु पीडाको खिल्ली उडाउँदै हाँसिदिने,

कसैको प्रगाढ ममता र स्नेह लुटेर

धारिलो जिब्रोले आत्मियताको निर्मम हत्या गर्छ भने

अँ हँ

होइन, हुँदै होइन

यो मुख मेरो हुँदै होइन

मेरो ओठबाट बोली लुछिए पछि

THE MY MOUTH भन्नै सकिनँ

 

आमालाई पाउले छुने

नेपाली पाउ कहाँ छ ?

जो पापको भागिदार हुनेछ

मलाई पापी पाउ पालेर पाप गर्नु छैन

जसले हरेक समय पाप गरिरहन्छ

यो जमिन टेकेर,यही माटो टेकेर

म धरतीलाई पुज्न चाहन्छु

जो मेरी आमा हुन्।

मेरो पाउबाट पाप भइरहँदा पनि

जमिन बाँडिएर म उछिट्टिए पनि

THE MY MOTHERLAND भन्दै

अझ चर्को नारा लगाउने मै हुँ

 

परिवर्तन गर्न निस्किएको

एउटा बाठो कलम

जसलाई आफ्नै हातले अठ्याए पछि

के फुक्थ्यो र दुनियाँ ?

यसरी ज्याद्रो साङ्लाले टनटनी कसेर

गोठमा एक हुल वस्तु बाँधे झैं

कागजमा एक मुठ्ठी सास भरेर

मेरो रुद्रघन्टी मा पासो लगाउने

यी जल्लादी हत्केला

म कसरी मेरो भनुँ ?

मेरो हत्केला बाट अधिकार खोसिए पछि

THE MY HAND भन्नै सकिनँ

 

तिमीले तिम्रै लिपीमा

“THE MY”भन्दा

के हुन्छ, बुझ्दिन म

मैले मेरो लिपीमा

दमाई भन्दा

कसैले बुझाउनु पर्दैन

अब भन प्रिय पृथ्वी

तिम्रो कुन खण्ड लाई “THE MY”भनुँ ??

तिमी मान्छेको कुन रंगलाई दमाई भन्छौ ???

रोशन परियार

Leave a Reply