भारतबाट ९ नेपाली महिलाको उद्धार

0
70
attempt to rape
attempt to rape

भारतबाट ९ नेपाली महिलाको उद्धार तथा स्वदेशफिर वैदेशिक रोजगारीको आशामा महिनौं बन्धक : ९ महिलाको भारतबाट उद्धार वैदेशिक रोजगारीको प्रलोभनमा पारी विगत सात महिना देखि कुवेत, दुवई र साउदी लगायत अन्य खाडी मुलुक पुर्याउने भनी भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा महिनौंदेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेशफिर्ती गरिएको छ । के.आई. नेपालले ती सबै नेपाली महिलाहरुको बारेमा प्राप्त जानकारी अनुसार दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा पुस १० मा उद्धार गरीएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरी ११ पुसमा स्वदेशफिर्ती पश्चात परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काकर्भिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमा पार गराइएको र भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखि आज भोलि भन्दै सात महिनासम्म आफू लगायत अन्य ८ जनालाई पनि बन्धक बनाई राखेको र ९ मध्ये ७ जनालाई कुवेत १ जनालाई दुवई र १ जनालाई साउदीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी लगिएको पीडीतहरुले बताएका छन् । के.आई. नेपाल दिल्लीस्थित प्रतिनिधि नविन जोशीले दिएको जानकारी अनुसार विभिन्न ७ जिल्लाबाट फरकफरक व्यक्तिहरुसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीको लागि भारत पुगेका उनीहरुले धन कमाउने, परिवारको आर्थिक अवस्थामा सुधार ल्याई भविष्यलाई उज्वल बनाउने सपना देखेर विश्वासको कारण समस्या भोग्नुपरेको तथा वेचबिखनको जोखिमबाट मुक्त भई स्वदेशफिर्ती हुन पाएकोमा के.आई. नेपाललाई धन्यवाद दिएका छन् । मानव बेचविखनको बदलिदो स्वरुपसंगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवम् कठिनपुर्ण हुँदै गइरहेको छ जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजारौ महिला तथा किशोरीहरु परेका छन् । रोजगारीको लागि भारतको बाटो हुँदै तेस्रो मुलुक पुगेर उनीहरुले भोग्नुपरेको दुःख कष्टलाई हामी कल्पना पनि गर्न सक्दैनौ भने महिलाहरु मानव बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना उच्च रहेकोले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने तथा नेपाल सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताउनुभएको छ ।

Leave a Reply