भुतुचा / भवानी भिक्षु/कविता

0
52

भवानी भिक्षु

परिचय

जन्म- मिति /स्थान -वि.सं.१९६६ जेठ २१ तौलिहवा कपिलबस्तु 

आमा यशोदादेवीले भवानीसँग भिक्षा मागेर बचाएकी हुनाले उनको नाम भवानी भिक्षु रहन गएको हो भन्ने भनाई छ।

भिक्षुको खास नाम नोहरराम गुप्ता हो, उनी सानामा रोगी थिए। घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे। त्यसैताका उनलाई शितला माई (बिफर)ले आक्रान्त बनायो। त्यसै बिमारले उनी थला परे। त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर आर्तपुकारा गर्न थालिन्, ’हे साक्षात् देवी ! मेरो छोरोलाई केही नहोस्, चिरञ्जीवी होस्।’ अनेक बिलौना गरेर भिक्षुकी आमा घर फर्किन्। उनी देवीथानबाट घर पुग्दा उनको छोरा टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए। आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षका आँसु छछल्किन थाले। उनले अङ्गालोमा छोरो च्यापेर भनिन् ’मेरो बाबु ! तिमी देवीका कृपाले निको भयौ।’ तर भिक्षुको मुखैभरि विफरका दागले ढाकिदियो। यसरी उनी बिफर रोगले आक्रान्त भई मरणासन्न अवस्थामा पुगेका र आमा यशोदादेवीले भवानीसँग भिक्षा मागेर बचाएकी हुनाले उनको नाम भवानी भिक्षु रहन गएको हो भन्ने भनाई छ।

आफ्नो गाउँको भाषा पाठशालामा चार पास गरेपछि भवानी भिक्षु मामाघर भारत पुगे। मामाघरमा केही वर्ष बस्न नपाँउदै फेरि उनका बुबाले उनलाई नेपाल नै फर्काए। तर भवानी भिक्षुको एकोहोरो जिद्धिका कारण उनी पुनः मामा घरै फर्के। त्यसपछि भने यिनको नियमित पढाइ लेखाइ भारतमै हुन थाल्यो। यिनले बाह्र वर्षै उमेरमा हिन्दी माध्यममा कुलभूषण परीक्षा दिए र त्यस परीक्षामा दोस्रो स्थान प्राप्त गरे।

भिक्षुले स्वाध्ययनबाट नै हिन्दी, अङ्ग्रेजी, बङ्गाली र उर्दू भाषामा राम्रो दक्षता प्राप्त गरेको पाइन्छ। घरको गरीबीले भिक्षुलाई थेचार्न थेचारेको थियो, निमोठ्नु निमोठेको थियो र निचोर्नु निचोरेको थियो। त्यसैले नेपाल फर्केपछि यिनले हरेक जुक्तिले घरको आर्थिक अवस्था उकास्ने काम गर्न थाले। यसै सन्दर्भमा यी अड्डाको लेखनदास बन्न पुगे। विक्रममणि त्रिपाठीका अनुसार यिनका लेखन गुरु अम्बिकाप्रसाद श्रेष्ठ थिए। घटराज भट्टराईका अनुसार अड्डाअदालतमा लेखापढी गर्दागर्दै उनमा नेपाली अक्षर लेख्ने मन बस्न थालेको थियो। त्यही लेखनदासी लेखनी नै उनको नेपाली भाषाको जग बन्न थाल्यो। त्यस बेला श्रेष्ठले उनलाई बस्नका लागि आफ्नै घरको एउटा कोठा पनि दिए। श्रेष्ठका घरमा डेरा सरेपछि भिक्षु बिहान, बेलुका र दिउँसो लेख्ने काममा मात्रै लागिरहे। त्यसैताका मथुराप्रसाद गुप्ताद्वारा तौलिहवामा श्रीराम पुस्तकालयको स्थापना भएको थियो। त्यसपछि भिक्षु नेपाली साहित्यका कृति पढ्नमा पनि अग्रसर भए। भवानी भिक्षुको तौलिहवामा लेखनदासमा राम्रो नाउँ चलिसकेको थियो। त्यही सिलसिलामा स्थानीय पशुपतिप्रताप पुरीको घरजग्गा उकास्न यी काठमाडौं आए। वास्तवमा पुरी भूमिपति थिए। तर प्राकृतिक प्रकोपका कारण उनको जग्गा लिलाम हुने परिस्थिति आएको थियो। त्यस बेला पुरीलाई उनको जग्गा उकास्नका लागि मद्दत गर्न एउटा भरपर्दो व्यक्तिको खोजी थियो। त्यस्तो योग्यता भएका व्यक्तिका रूपमा पुरीले भवानी भिक्षुलाई नै छाने। त्यसैले पुरीको कागजात बोकेर भिक्षु काठमाडौं आएका थिए।\

उनले ’आगत’ उपन्यासमा साझा पुरस्कार २०३२  र मदन पुरस्कार २०३२ पनि प्राप्त गरे। साथै उनी त्रिभुवन प्रज्ञा पुरस्कार २०३६ बाट पनि सम्मानित भए।

काठमाडौं आएर भवानी भिक्षुले सर्वप्रथम पुरीप्रतिको आफ्नो दायित्व पुरा गर्न प्रयास गरे। त्यसपछि उनी गोरखापत्र पुगे। त्यहाँ उनले सम्पादक प्रेमराज शर्मालाई भेटे। साथै सिद्धिचरण श्रेष्ठसँग पनि उनको भेट भयो। त्यस बखतका साहित्यका शिखरपुरुष सिद्धिचरणलाई विमात्रृभाषी भिक्षुको नेपाली भाषाप्रतिको अनन्यप्रेम, आस्था र लगनशीलताले प्रभावित बनायो। अन्ततः श्रेष्ठले भिक्षुको उत्साहले भरिएको नेपाली भाषासाहित्यप्रतिको समर्पणको नाडी छामे र भिक्षुलाई जोरगणेश प्रेसमा पु-याई दिए। त्यहाँ पुगेर भिक्षुले आफ्नो रचना ’शारदा’मा दिए। १९९३ सालमा उनको पहिलो समालोचना नेपाली भाषामा छापिएको थियो। अनि भिक्षु शारदामा नै टाँस्सिन थाले। परिणामस्वरूप उनी शारदा कै सम्पादकमा पनि नियुक्त भए। भवानी भिक्षुले भारतमा नै बिहे गरे। तर उनको घरजम भएन। अनि फेरि उनले दोस्रो बिहे गरे तर केही वर्षपछि भिक्षु पत्नीवियोगमा परे। धेरै वर्षपछि अर्थात् काठमाडौंमा बसोवास गर्न थालेपछि उनले अर्की एउटीसँग बसउठ गरे। तर उनले बिहे गरेको सकारेनन्। त्यसैताका उनको कवयित्री प्रेमराजेश्वरी थापासँग घनिष्ठता थियो। साथै उनले कथाकार देवकुमारी थापासँग पनि बिहे गर्न अनेक प्रपञ्च गरे तर असफल भए। त्यसैले उनले औपचारिक रूपमा एकल जीवन नै भुक्तान गर्दै आफ्नो यात्रा डो-याइरहे। भवानी भिक्षुले सरकारी जागीरका रूपमा राजनीतिक नियुक्ति पनि पाए। राजा महेन्द्रको निगाहले उनी प्रचार विभागका निर्दशक समेत भए।

भवानी भिक्षुले शारदा र धरतीको सम्पादन गरे। साथै कथा, उपन्यास, कविता गरेर यिनका नौवटा कृति प्रकाशित भए। उनले ’आगत’ उपन्यासमा साझा पुरस्कार २०३२  र मदन पुरस्कार २०३२ पनि प्राप्त गरे। साथै उनी त्रिभुवन प्रज्ञा पुरस्कार २०३६ बाट पनि सम्मानित भए। उनी स्थापना कालदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य भए। त्यहाँ बाह्र वर्षसम्म सदस्य भएपछि सोही पदको भत्ता पाउने गरी उनी आजीवन सदस्य भए। राजधानी बाहिरका भिक्षुले सुरुसुरुमा आर्थिक रूपमा कठोर सङ्र्घर्ष गरेर आफूलाई काठमाडौंमा नै अड्याई छाडे। उनले हरेक बाधाको सामना गरेर नेपाली भाषासाहित्यका लागि आफ्नो जीवन समर्पण गरे। बाल्यकालमा अवधी र हिन्दी साहित्यको पाठ कण्ठ गरे तापनि किशोरावस्था सकिंदा नसकिंदैदेखि बाँचुञ्जेलसम्म उनले नेपाली हुनुको धर्म निर्वाह गरे। उनले हरेक क्षण नेपाली भाषा र नेपाली साहित्यकै जप गरे। उनले आफ्नो जीवनकालभरि नै नेपाली भाषासाहित्यमैं तप गरे। फलस्वरूप भिक्षु नेपाली आख्यान साहित्यका अविस्मरणीय प्रणेता मानिए। भिक्षु नेपाली साहित्यका अजरअमर साधकका रूपमा सँधैभरि पुजिए। मातृभाषा अवधि भएका भिक्षु नेपाली साहित्यका आगन्तुक प्रतिभा हुन्। भवानी भिक्षुको प्रारम्भिक साहित्यिक लेखन हिन्दी भाषाबाट सुरु भएको पाइन्छ। उनले हिन्दी साहित्यको पनि प्रशस्त अध्ययन गरेका थिए। यसबाहेक बङ्गाली साहित्यका अमर साहित्यकारहरू रविन्द्र ठाकुर तथा शरद्चन्द्र चट्टोपाध्यायका पनि उनी प्रशंसक थिए र उनीहरूको लेखनबाट प्रभावित र प्रेरित पनि। उनी हिन्दी भाषामा लेख्दथे भन्ने कुरो निम्नङ्कित आत्मस्वीकृतिबाट प्रमाणित हुन्छ – ’सुब्बा ऋद्धिबहादुर मल्लज्यूले नै हिन्दीमा लेखिएको भिक्षुको लेखलाई ’आलोचना र आलोचक’ नाउँले अनुवाद गरी १९९३ साल कार्तिक अङ्कको ’शारदा’मा प्रकाशित गर्नु भो र यसरी … नेपाली साहित्यलाई चिनारी गराइयो –’मधेसे नेपाली लेखक।

भवानी नेपाली कथाकार र उपन्यासकार थिए । उनी आधुनिक नेपाली कथाको फाँटमा मैनाली र कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् ।

उनका  प्रकाशित कृतिहरू निम्न छन्:

(क) कवितासङ्रग्रहछाँया  (२०१७) ,  प्रकाश ( २०१७), परिष्कार  (२०१७)
(ख)  कथासङ्रग्रहगुनकेशरी  (२०१७),  मैंयासाहेब (२०१७), आवर्त  (२०२४), अवान्तर (२०३४)
(ग)  उपन्याससुभद्रा बज्यै ( २०१९), आगत (२०३३), पाइप नं. दुई (२०३४), सुन्तली (२०४०)
(घ)  एकाङ्की - पर्दापछाडि (२०३०)

निधन – वि.सं. २०३८ बैशाख ४ गते काठमाडौँ नेपाल 

प्रस्तुत गर्दछौ उनकै एक कविता


 

[{‘भुतुचा’}- एउटी पोडेनीको सामाजिक व्यथा हो]

जन्म, जीवन सम्झनाको मार्गले
‘जीवनी’ उत्री रहेछ
आज यस मेरो व्यथामा ।

सेती ‘भुतुचा’ कलिली, राम्री,
रक्त रातो आङमा उम्ली रहन्छ;
त्यहाँ छ रमणीत्व बन्दी मौनतामा,
तैपनि, झल्की रहन्छ;
वेगमय पुरुषत्व, पौरुषयुक्त नरताको गरम उच्छ्वासमा
— मुछिई,
भुतुचा के बफायेकी नहोली उम्लिएको श्वासमा ?
रात्रिको न्यानो अंगालो
वर चिसो मैलो वछ्यानमा,
हेर उ, ‘सुकुचा’की पत्नी, त्यही हो,
तलको रछानमा ;
त्यहाँ उद्वेलन छ केही,
पक्रनलाई,
भनाईको यस कथामा ?
जन्म, जीवन सम्झनाकी मार्गले
‘जीवनी’ उत्री रहेछ
आज यस मेरो व्यथामा ।

भुतुचा रमणी,
वासना तर आज उसको भाग होइन,
भुतुचा राम्री,
कल्पना तर आज उसको तार होइन;
दुइटा पञ्जर-हाड छन्-
कमनीयताको करकमलमा,
घृणित सारा सोर्नु नै हो मात्र भुतुचा
भूमि तलमा;
मानवी भुतुचा,
मनुजता तर त्यहाँ के आज उसको साथमा छ ?
कामिनी भुतुचा,
तर कमिनीयता के आज उसको गाथमा छ ?
मात्र अवगुण, मात्र मिथ्या –
हुन्, सबै सुन्दर त्यहाँका,
अर्थ, उद्वेलित रहित छन्, मृत सबै –
राम्रा त्यहाँका ।

सुन्दरी होओस् भुतुचा,
“छिः छिः” को त्यो व्यञ्जना हो;
राम्री होओस् भुतुचा
नारिको त्यो वञ्चना हो;
भुतुचा—
त्यो नारीत्वलाई पार्ने लज्जित, कला हो,
भुतुचा किन देखिन्छे कोमल ?
होइन, यो हो ‘छल’ प्रकृतिको;
हुन्छे राम्री कसरी भुतुचा ?
यो उपद्रव हो प्रकृतिको ;
हेर भुतुचा गन्हाउँदी छ,
कतै नारी पनि गनेहाउँछन् ?
मूत्र मल नै त्यो नुहाउँछे,
के यसरी नारी नुहाउँछन् ?
घृणाले आकार धारण गरेकी,
के होइन भुतुचा ?
ली रछाने जन्म
उद्भिज यो रछान्‌को होइन भुतुचा ?

प्राण होला,
वीर युगहरुले सबै खाई सकेछन्;
कामनाका क्रम सबै
मनुष्यत्वले मारी सकेछन्;
अश्रु झार्दैनन् त्यहाँका चक्षु[,
ती हेरी रहन्छन्;
साम्य हुनुमै –
आश अभिलाषा,
मजासित पूर्ति लिन्छन्;
उसको सृजनाकी नियम –
“आकार पाउनु “ मात्र नै हो,
उसको ‘गीता-कर्म —
खर्पन, कुचो, सोर्नु मात्र नै हो;
ढुकढुकी दुर्गन्ध उसको “प्राणवायु“ साँस होइन !
“नाक च्याप्न लाउँछे साराको“
यत्तिकै उसको चेतन ।

दिन्हौ ल्याउँछे जुठो भुतुचा,
स्वाद, रस छन् पेट अथवा भोक,
क्लान्ति-श्लथ तनको विवशता,
‘पल्टिनु ‘
त्यो सुत्नु झैं श्रम-तोप ;
चक्षु, मुटुको लोभ ‘सुकुचा,‘ लोग्ने
भुतुचा-प्राप्तिको ‘नर‘ मात्र,
वासना, उच्छवास, तीव्रोद्वेग-
कुन्नि !
रीति झैं त्यो काम-आग्रह-पात्र ।

उठी व्याहानै, उठाउँदै हाड, सम्झन्छे कुचो,
“भगवान्“ भन्छे !
काँधमा खर्पन र ‘थुप्रो‘ नेत्रमा—उसको रछाने स्वर्ग,
त्यै तिर छिटो लम्कन्छे;
दुवैतिर छन् स्वर्ग लहरै उभिएका,
त्यहाका अप्सरा औ देउता उन्मत्त
हेर्दछन् –
गै रहेकी तिनकी विधान, तिनको कुइगंध
तिनको विहित, संत्रस्त ।

संकुचित खुम्चयेकी त्यी मूकता;
के यहि भुतुचा–कुचो, सोर्नु, हाड ?
होइन होइन,
देखिएकी मात्र भुतुचा होइन, खोज्ने त्राण;
किन्तु भुतुचा जो हो –
हाँक दिन हुन्न त्यसलाई,
नहुङ्कार कतैले हेर !!
सोरि दिन्छे नत्र –
देउता,
त्यही तिम्रो हाडले –
कङ्कालको यो ढेर,
तिम्रो स्वर्ग, तिम्रो विहित, उज्ज्वल सबैः
भुतुचा आडनाको राप;
घृणा बलले नै उठेर नाश पार्छे—
स्वर्ग सुख –सन्ताप ।

साभार – “शारदा“ २००६ कार्तिक

नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको त्यस्तै साभार)

Leave a Reply