लक्ष्मण संगमका तिन गजल

0
59

लक्ष्मण संगम गजलको माहोलमा सुनिरहेको नाम हो । आछाममा जन्मनु भएका संगम लामो समय देखि गजल लेखनमा क्रियासिल हुनु हुन्छ । नेपाली साहित्य क्षेत्रमा विशेष रुची राख्ने लक्ष्मणको नेपालि गजल क्षेत्रमा प्रस्ट अनुहार भेट्न सकिन्छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको अंश:-

एउटा काव्य तब सफल हुन्छ जब युग बाच्छ । तपाईंको विचारमा, त्यस्तो तत्वहरु केके हुनसक्छन, जसले एउटा गजल युगान्तकारी बनाउँछ ?

  • प्रश्नकालागि धन्यवाद ! नेपाली साहित्य अथवा नेपाली गजलको बारेमा, त्यसमा पनि युगान्तकारी साहित्यको बारेमा बोल्ने अाँट त म गर्दिनँ तर पनि तपाईंले सोध्नुभयो तपाईंको कर्तव्य हो र मैले जवाफ दिनुपर्ने मेरो कर्तव्य सम्झेर म केही बोल्छु।

तपाईंले कुनै पनि रचना युग बाँच्ने कुरा गर्नुभएको छ। यसको छोटो जवाफ राम्रो रचना युगान्तकारी हुन्छ भन्ने हुन्छ। फेरि राम्रो हुनलाई के चाहिन्छ ? एउटा उत्तर दिदै गर्दा जन्मिने प्रश्न हो यो। राम्रो धेरै थरि हुनसक्छ। व्यक्ति व्यक्तिपिच्छे फरक मत अाउनु स्वभाविकै हो। मेरो विचारमा राम्रो हुनलाई पहिलो नम्बरमा गजलका अाधारभूत नियमसँगै गजलमा उत्कृष्ट भाव हुनुपर्छ। शब्द चयन , प्रस्तुतिकला, गजलमा सरलता , मीठासले पनि गजललाई थप उत्कृष्टता प्रदान गर्छ। अहिले नेपाली गजल लेखनमा नेतालाई गालि, शृङ्गारिकताको नाममा सिमा पार गरेको अवस्था पनि देखिन्छ यस्तो लेखाइ युगान्तकारी नहोला कि जस्तो लाग्छ। सकेसम्म अरुले प्रयोग नगरेको भाव गजलमा प्रयोग गर्न सकेमा गजल युगान्तकारी बन्न सक्छ।

समकालीन अवस्था लाई नियाल्दा नेपालमा अन्य साहित्य विधा भन्दा गजल अग्र स्थानमा देखिन्छ ! यसको कारण के हुनसक्छ ?

-नेपाली साहित्यमा गजल अग्र स्थानमा देखिएको प्रसङ्ग यहाँको प्रश्नमा छ। नेपाली साहित्यमा पछिल्लो समय गजल लेख्नेहरू धेरै हुनुहुन्छ। बहुमत गजल लेख्नेको छ त्यसकारण अरु विधाभन्दा गजल अग्र स्थानमा छ। तर यो मात्रै नेपाली गजलकालागि खुसीको कुरा होइन। तपाईंले पहिलो प्रश्नमा सोधे जस्तो युगान्तकारी गजल लेखनले मात्रै यो खुसीलाई पूर्णता दिनसक्छ। साहित्यका जुनसुकै विधाहरुसँग पनि टक्राव दिनसक्ने गजलहरू लेखिनुपर्छ। तपाईंले अन्य साहित्य विधामा गजल अग्र स्थानमा छ भन्नुभयो तर जसरी अग्र स्थानमा देखिनु पर्ने हो त्यसरी देखिन सकेको छैन। किनकि नेपाली समालोचकको नजरसम्म वर्तमान गजलहरू पुग्न सकेका छैनन्। नेपाली भाषाका पाठ्यक्रममा वर्तमानकालीन गजलहरू समाविष्ट हुन सकेको अवस्था छैन। यति भयो भने अन्य साहित्यिक विधाभन्दा माथि नभनौँ ( हुनसक्छ )तल चाहिँ कदापि हुँदैन

एकातिर गजललाई रागात्माक(प्रेमात्माक) हुनुपर्छ भन्नेहरु छन भने अर्कातिर विचार युक्त हुनुपर्छ भन्नेहरु पनि छन् ? गजलमा के भयो भने गजल, गजल हुन्छ?

  • गजल सैद्धान्तिक हिसाबले नै मुशलसल र गैरमुशलसल गरी दुई किसिमले लेखिने विधा भएकाले अाधारभुत सैद्धान्तिक नियम( रदिफ , काफिया शेर , लय, अादि)मा रहेर उत्कृष्ट भाव राखेर गजल लेखियो भने गजल गजल हुन्छ जस्तो लाग्छ मलाई। तपाईंको प्रश्नमा विचार भन्ने  शब्द अाएको छ विचार केलाई भन्ने? राम्रो तरिकाले लेख्न सकियो भने प्रेम पनि वैचारिक विषय हुन्छ र विचारको नाममा नेतालाई गाली , उखान टुक्कालाई जस्ताको त्यस्तै राख्ने प्रवृत्ति , लोकगीतको भाव चोरेर गजलका शेर बनाउने प्रवृत्ति , अग्रज साहित्यकारहरूका रचनालाई बिगारेर गजल लेख्ने प्रवृत्तिले नेपाली गजलको उचाई घटाइरहेका छन्। रागात्मकताको नाममा अश्लील शब्दहरूको प्रयोगले नेपाली गजललाई हानि गरिरहेको महसुस हुन्छ।

प्रस्तुत छन् उहाँका तीन गजलहरु:-

गजल   लक्ष्मण सङ्गम 

याद  पठाइरह्यो  तस्बिर  पठाउन  सकेन। 
मनको मान्छे अाँखासम्म अाउन सकेन।।

सँगै भएर मैले तिम्रो साथ नपाए जस्तो
किनाराले किनाराको साथ पाउन सकेन।

केहीबेर पानीसँग रिसाएर बगरमा बस्यो
माछाले बगरमै जिन्दगी बिताउन सकेन।।

हिजो सिमानामा उभिएर देश बचाएथ्यो उसले
अाज देशले उसको शालिक बचाउन सकेन।।

 

गजल   लक्ष्मण सङ्गम 

खुसी लाग्छ अाखिर, हेरेर चित्त बुझाउँछु। 
शालिकहरूको  शिर  हेरेर  चित्त बुझाउँछु।। 

दुबैले अाफ्नो  भने म  कसैको हुन सकिनँ
दुःख  लाग्छ काश्मीर  हेरेर  चित्त बुझाउँछु।। 

कोही  छ  जस्तो  लाग्छ  सुनसान घरभित्र
कहिलेकाहीँ  मन्दिर हेरेर  चित्त  बुझाउँछु।। 

"छोरो छ कसरी सम्झाऊँ?" विधुवाले भनिन्
म त पसलको अवीर हेरेर चित्त बुझाउँछु।। 

देश  रहेन  भने देशको नक्सा  पनि रहदैन
तिमी नहुँदा त तस्बिर हेरेर चित्त बुझाउँछु।।

गजल   लक्ष्मण सङ्गम 

अाफू च्यापिएर थामिरहन्छ जरा प्रायःजसो।
देख्नेहरुले रुख देख्छन् हराभरा प्रायःजसो।। 

एउटा पैतालाले मेट्छ अर्को पैतालाको छाप 
सँगै हिँड्नेहरू नै हुन्छन् खतरा प्राय:जसो।। 

हामी प्यासीहरू भने हत्केलामा नदी चाहन्छौँ
जहाँ फूल छन् त्यहीँ पुग्छ भमरा प्रायःजसो।। 

मलाई पनि समयको काँध चढेर लक्ष्य चुम्नुछ
अरूकै काँध चढेर उक्लिन्छ लहरा प्रायःजसो।। 

मन  भत्केपछि  गएकाहरू  कहिल्यै  फर्केनन्
गुँड भत्केपछि पनि फर्किरह्यो चरा प्रायःजसो।।
  • लक्ष्मण सङ्गम,

Leave a Reply