रूप रसाइलीका तिन कविता

0
138
पिता खड्ग सिं र माता नन्दकाली बिकको सुपुत्रको रुपमा घान्द्रुक २ फुलिवाङमा वि . सं  २०४४/०४/१८ गते जन्मिनु भएका रूप रसाइलीको स्थायी ठोगाना- अन्नपूर्ण गाउँपलिका ८ घान्द्रुक कास्की हो। हाल उहाँ  दोहा कतारमा  हुनु हुन्छ।
प्रस्तुत: छ उहाँसंग गरिएको कुराकानीको अंश:-
“हामी हाम्रो साहित्यद्वारा आमालाई महिनावारी हुन सिकाइरहेछौँ।”
       बुझेको बुद्धिलाई मनद्वारा सञ्चालित इन्द्रियले जितेपछि विवेकी मान्छे पनि जसरी बलात्कारजस्तो जघन्य अपकाध गर्न पछि पर्दैन हो त्यस्तै छ नेपाली साहित्य पनि क्षणिक आनन्द र स्वार्थकोपछि लागेर स्वयम् निन्दित छ, तिरस्कृत छ।

१    शान्ति र संविधान, सहमति, राष्ट्र र राष्ट्रियता, मानवता या नैतिकता अहिलेको राजनीतिक वृत्तमा सर्वाधिक चर्चित शब्दहरू हुन्। उसो त नेपाली कवितावृत्तको चर्चित शब्दहरू पनि यिनै हुन्। साहित्यले राजनीतिलाई पीडित बनाएको हो या राजनीतिले साहित्यलाई निन्दित गराइरहेको अवस्था हो? समकालीन नेपाली
साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?
 – अस्थिर राजनीतिको कारण राजनीति प्रति विशेष गरी प्रहार गर्न अक्टोपसकार विधाको रूपमा कविता चयन गरिन्छ गरिरहेकै छौँ। हामी चिन्ता, व्यङ्ग्य र प्रहार गरेको बढी मन पराउँछौँ, जसले क्षणिक आनन्द हुन्छ। क्षणिक आनन्दको कारण नै हामी मज्जाले भड्किरहेका छौँ। भड्किरहनुको नतीजाबाट नै माथि उल्लिखित शब्दहरूको चयन गर्छौँ, किनकि ती शब्दहरू र ती शब्दसँग सम्बन्धित कारकहरू हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष गाँसिएका छन्। नैतिकता र मानवता भइदिने हो भने कहाँ आवश्यक छ शान्ति संविधान भन्ने? मानवता भइदिने हो भने राष्ट्रिय र अराष्ट्रियताको सवाल हुन्न। हामीले जगत्‌को बारेमा सोच्न थाल्ने हो भने सीमानाले रोक्दैन। चेतना र साधनाको गहिराइमा पुगेर लेखिने कविताहरू चिन्ता भन्दा चिन्तन र माथिका शब्दहरू भन्दा चराचर जगत्‌बाट जिवात्माहरूले के ग्रहण गर्ने, जीवनलाई कसरी बोध गर्ने भन्ने विषयमा लेखिन्छ। तर हामीले बाँचिरहेको समयको सापेक्षमा लेख्नुपर्दा हामी बढी राजनीति वा बुद्धिको प्रतिस्पर्धासँग जोडिन्छौँ। बुद्धिले प्रविधिको विकास गर्छ र प्रविधिले विलासी बनाउँछ। मैले कतै लेखेको पनि छु, “हामीले पिउने पानीको एक- एक धाराबाट राजनीति बगिरहेको छ, त्यसैले हामी राजनीति देखि टाढा छु भनेर सुहाउन्न।” यसरी जोडिएपछि माथिका शब्दहरूसँग निकट भएर कलम चल्नु स्वाभाविक हो। त्यसैले पनि बाँकी विषयका कविता भन्दा राजनीतिसँग जोडिएको कविताले चर्चा पाउने गर्छ। यसमा कुन र को द्वारा भन्ने पनि बुझ्न बाँकी नै छ। हामी यस्तो छौँ कि राजनीतिक मुद्दामा लेखिएको कवितालाई राष्ट्रिय कविता समेत भन्न भ्याउँछौँ। राजनीतिक विचारधाराको व्यक्तिले आफ्नो पक्षमा लाभ पर्ने गरी आवरण हेरेर वा आफ्नो संस्थागत विचारले लेपन गरी शब्दहरू खेलाउँछ भने एउटा स्वच्छ वा प्रकृतिप्रेमी कविले आठै कोणबाट शब्द खेलाउन सक्छ। कवितामा कुँदिएका विचार र भावना ग्रहण गरी देखाइएका र उठाइएका सम्भावना र सवालहरूलाई प्रयोग र निदान गर्नु पर्ने हो, जो देखिन्न।
 “भोक त दुवैलाई बराबर लागेको थियो।
सानो पेट ठुलो पेटको आहारा बनिदियो।”
पश्चिमा राजनीति साहित्यबाट प्रभावित वा चल्ने गर्छन् तर हाम्रो समाजमा जहाँ चेतनाको सुरुवात त भयो तर कोही जाग्न सकेनन् वा विवेकको विकास हुन सकेन यस्तो ठाउँमा अघि नै लेखेँ विवेकहीन भएपछि आफू अनुकूल हुन खोज्छौँ। जसरी अध्यात्म विज्ञानको आँखा हो, त्यसरी नै सिङ्गो राजनीति वा व्यवस्थाको आँखा हुनुपर्ने हो साहित्य। साहित्य भावना हो र राजनीति व्यवस्थाको संरक्षक र अभिभावक तर साहित्य त राजनीतिको पुच्छर र कुरौटे थुतुनो भएको छ, लालची भएको छ।
बुझेको बुद्धिलाई मनद्वारा सञ्चालित इन्द्रियले जितेपछि विवेकी मान्छे पनि जसरी बलात्कार जस्तो जघन्य अपकाध गर्न पछि पर्दैन , हो त्यस्तै छ नेपाली साहित्य पनि क्षणिक आनन्द र स्वार्थको पछि लागेर स्वयम् निन्दित छ, तिरस्कृत छ। ” स्वयम्‌मा चेतनाको विकास हुन नसकेपछि न हो मानिस बहकिने।” त्यसैले पनि हाम्रो साहित्य ज्यादा करुणामय छ। रोना, धोना, ढलेँ,मरेमा सीमित छ। त्योभन्दा अर्को पल्तिर तिखो प्रहार, गुनासो र व्यङ्ग्यमा मस्त रमाइरहेको छ। जीवन बोध गराउने, प्रेरणा दिने, उत्साह थप्ने र समग्रमा जीवन जिउने कला थप्ने साहित्य बिलकुल कम छ। व्याख्या बाहेक घटनाहरूलाई अवसरको रूपमा स्वीकार्न सक्ने क्षमता भर्ने नेपाली गुरु साहित्य कमै लेखिन्छन्। नभएको हैन तर संस्कारिक रूपमा राजनीतिकृत धारमा बगिरहेको हुनाले लेख्नेहरू महत्वकांक्षाले उतै मोडिन्छन्। मैले एक दिन लेखेथेँ “हामी हाम्रो साहित्यद्वारा आमालाई महिनावारी हुन सिकाइरहेछौँ।”
 
   जीवन सङ्घर्षको – अर्को पर्यावाची शब्द कविता हो भन्ने गर्दछन् कविहरू। तपाईँ के भन्नू हुन्छ ? तपाईँको लागि कविता के हो ? कवितालाई कसरी अर्थाउनु हुन्छ ?
       
          – जीवन जिउन बाध्यता छ कि छैन भन्ने प्रश्नको उत्तरमा आफू कसरी उभ्भिने भन्ने हुन्छ। म त भन्छु यहाँ हरेकलाई बाध्यता छ। यदि बाध्यता छ भनिन्छ भने सङ्घर्ष पनि छ र यो मानेमा जीवनभरि सङ्घर्ष छ। जीवानुभूतिलाई भावनाको माध्यमबाट सानो अंशमा व्यक्त गर्नु कविता हो भनिरहँदा पनि यसको परिचय यतिले पुग्दैन र मैले निकै अघि लेखेको थिएँ- “प्रेम, जीवन र कविताको परिभाषा जुन दिन बन्छ, त्यो दिन स्वयम् यीनिहरूको अस्तित्व सकिन्छ वा नाश हुन्छन्।” यो अर्थमा म कविता भनेको यही हो भन्ने पक्षमा छैन, किटाण गर्न सक्दिनँ। कविताको त्यतिविधि विराट स्वरूप हुँदाहुँदै पनि हामीले आफू अनुकूलको परिभाषा दिई यसको परिधि खुम्चाएका छौँ। कविताको परिभाषा नभेटिएर वा भेट्ने अभिलाषाले त हामीले कविता भनी लेखिरहेका छौँ। म कवितालाई विधाहरूको राजा वा सौर्यमण्डलको सूर्य भन्ने गर्छु। चम्किलो प्रकाश र ताप आउँछ सूर्यबाट। प्रकाशद्वारा हामी यो जगतलाई नियाल्न सक्छौँ देख्न सक्छौँ भने तापद्वारा हामी ऊर्जा प्राप्त गर्न सक्छौँ। सूर्यको परिक्रमा गर्ने ग्रहजस्तै कविताकै आधारमा अरू विधा घुम्ने हुन्, सबै विधामा कविता अटाउँछ, समग्र साहित्य कविता नै हो। नाम मात्र फरक, “कविता वा साहित्यमार्फत जगत्‌मा भएका जीवात्माहरूले दृष्टि पाउनु पर्छ, ऊर्जा मिल्नुपर्छ।”
  “टुप्पोबाट लेखिएको छ नेपाली इतिहास, जसले सीमान्तकृतलाई समेट्न सकेन, इतिहास निष्ठुर छ।”, भन्ने गरिन्छ, तपाईँ लामो समयदेखि कविता साधानामा लागिरहनु भएको छ। दिग्गज, अग्रजदेखि समकालीन कविहरूसम्म आइपुग्दा नेपाली साहित्य चाहिँ कत्तिको इमानदार देख्नुहुन्छ ? नेपाली साहित्य नेपाली समाजप्रति साँच्चै निष्ठुर छ र?
                हामी विवेकको प्रयोगद्वारा हेर्न सक्छौँ भने सबै समान देख्छौँ, यसमा कोही सीमान्तकृत भन्ने हुँदैन तर हामी बुद्धिको प्रयोग गरेर साहित्य लेख्यौँ। बुद्धि प्रेमिल र निठुर दुवै हुन्छ। अवश्य हामी निठुर रोज्छौँ किनकि बुद्धि प्रतिस्पर्धा गर्न रुचाउँछ चतुरताबिनाको प्रतिस्पर्धा कहाँ कल्पना गर्न सकिन्छ र!
 

–  मैले अघि नै भने चेतनाको उद्गम पूर्व भए तापनि तपोभूमिमै यसको विकास र लागु हुन भने सकेन। लागु हुने हो भने यहाँ कोही सीमान्तकृत वा बहुसङ्ख्यक वा कोही सत्ता पक्षको रूपमा वर्गीकृत हुनुपर्ने थिएन। उल्टै चेतनाको उद्गमको अहम्‌ता बोकी र ढोँगी चतुर्‍याइँहरूले आफू पूज्य हुन अनेकानेक ढोङ रचे। जसको उदाहरण स्वरूप हाम्रो सामु मनुस्मृति, विसं १९१० को मुलुकी ऐन र धारा प्रवाहको रूपमा चलिरहेकै हाम्रो समाजको कुप्रथा र कुसंस्कारहरू प्रष्ट छन्। यी ढोङ र चतुर्‍याइँले समाजमा नमज्जाको खाडल खन्यो र वारीपारी बनायो, फलस्वरूप यहाँ कोही किनाराकृत र कोही सीमान्तकृत हुन पुगे।

हामी विवेकको प्रयोगद्वारा हेर्न सक्छौँ भने सबै समान देख्छौँ, यसमा कोही सीमान्तकृत भन्ने हुँदैन तर हामी बुद्धिको प्रयोग गरेर साहित्य लेख्यौँ। बुद्धि प्रेमिल र निठुर दुवै हुन्छ। अवश्य हामी निठुर रोज्छौँ किनकि बुद्धि प्रतिस्पर्धा गर्न रुचाउँछ चतुरताबिनाको प्रतिस्पर्धा कहाँ कल्पना गर्न सकिन्छ र!

बुद्धिको प्रयोगले त हिरोसिमा र नागासाकीमा बम खसालिन्छ। उसो त हामी मनको दासी छौँ, मन जहिल्यै आफू अनुकूल हुन चाहन्छ, हो त्यही मन र बुद्धि प्रयोग गरेर कुनै समय सत्तापक्षको मात्रै भव्य गुणगान गाइयो सायद यसैलाई भनियो कि निठुर! जसकारण जीवन सङ्घर्ष, ढोङद्वारा निर्मित अन्तरसंघर्ष र दीर्घकालीन सोचबाट पर सरेर “भोकाएकाहरूको कथा भरिएको पेटले लेख्ने गरियो। मेरो एउटा गजलको सेर सम्झन चाहन्छु।

“भोक त दुवैलाई बराबर लागेको थियो।
सानो पेट ठुलो पेटको आहारा बनिदियो।”

अघि मैले माथि नै भने “कविताबाट जगत्‌मा भएका जीवात्माहरूले दृष्टि पाउनु पर्छ, ऊर्जा मिल्नुपर्छ।” तर अब यतिले मात्र पुग्दैन, जसरी सूर्यको प्रकाशमा आवाज छ त्यसरी नै कवितामा पनि आवाज हुनुपर्छ। आवाजको कुरा गरिरहँदा अब आफ्नै विचारलाई कुल्चेर उठ्नुपर्ने किन हुन्छ भने साहित्यमा चिन्तन- चिन्तन भनिरहँदा, के यहाँ चिन्तन नगरिएको हो? विद्वान, स्वामी र गुरुद्वारा तपस्या, आराधना नभएका हुन्? छत्तीसौँ वर्ष बुद्धले केमा व्यतित गरेका हुन् त? भएको हो भने किन ढोङले जित्यो त समाज?

अब बाँचिरहेको समय बुझेर समय सापेक्ष चिन्ता पनि जरुरत छ, प्रस्ट भइसक्यो कि यहाँ चिन्तनमा लीन विद्वानहरूसँग प्रेमको कुरा गरे हाँस्नेछन् त्यसैले प्रेमले जित्न सकिन्न बरु सिधा आक्रमण गरिनुपर्छ। आक्रमण गर्ने भनेको सदा सत्तापक्षसँग साँठगाँठ हुने र बहुसङ्ख्यकले हो। अल्पसङ्ख्यक, सीमान्तकृत, किनाराकृत भएकै कारण त बांगे सार्की, विसे नगर्चि, जीत बहादुर सिंजाली लगायत अन्य थुप्रैको बारेमा नेपाली साहित्य इतिहासमा चर्चा पाइन्न। यो मानेमा तपाईँको पश्न बहुत सान्दरभिक छ, “साहित्यमात्र नभएर समग्रमा नेपाली इतिहास टुप्पोबाट लेखिएको छ।”

तर पनि म एक्कासि नेपाली साहित्यलाई यतिविधि लान्छना पनि लगाउँदिनँ। किनभने उमेरैले मेरो गहिरो अध्ययन छैन तर अभिरुचि चैँ छ। करुणामय धारमा जति लेखियो यसको पात्र दोस्रो बन्न गयो। किनकि “जहिल्यै बिचरा अरू देखिने हो।” नलेखिएका हैनन् आवाज विहीन सीमान्तकृतहरूको पक्षमा पनि तर यहाँ आफू जागेर अरूलाई नियाल्न सकिएन, आवरणमात्र लेखियो, केवल भावनामा बगियो। परिकल्पनामासमेत सबल, योग्य वा सम्भावनाको पात्रको रूपमा देखाउन सकिएन। जाग्छन् भनिरहँदा पनि अब सीमान्तकृत, अल्पसङ्ख्यक र आवाज विहीन तुरुन्त जाग्न जरूरी छ। यदि जागेनौ भने अर्को तीन हजार वर्ष लाग्न पनि के बेर…..। नजागेका हैनन् तर सत्तामोहले नौनी पग्लिए झैं पग्लिए आधारहरूमै।

चिन्तनबाट नसुधारिएको समाजमा अब चिन्ताको आगो फुकिनुपर्छ। ढोङबाट चुलिएको पर्खाल प्रेमद्वारा समथर हुन सम्भव त होला तर समय लाग्छ। केही कुरा तत्काल परिवर्तन गर्न जरूरी हुन्छ। यो भूमिमा हज्जारौं वर्षदेखि साधना र तपस्या चल्दै आएको भए पनि अब न्यायपूर्ण आक्रोशले समय सापेक्ष परिवर्तन गर्नु छ, ती पर्खाल ढाल्नु छ। “कोइलाहरू जोडेर मात्र सुन गल्दैन, आगोसहितको कोइलालाई जोडले फुक्नुपर्छ।”

पहिरो लगाएर लछारेपछि
कम्जोर ढिस्काहरूलाई भत्काएपछि
र समुद्रलाई तताएर हिउँ बनाएपछिमात्रै
प्रकृतिले दिएको एक सुन्दर उपहार हो सगरमाथा!

अन्तमा, साहित्यमा भावनामात्र नभएर खोज पनि हुनपर्छ। खोजमा भावनाभन्दा सत्यता खोजिन्छ। सत्य खोज्न सानोतिनो अध्ययनले पुग्दैन भन्छु म चैँ। यहाँ त मौसमी बनेर स्टण्डमा उत्रिनु छ जो कसैलाई।

 


प्रस्तुत: छ उहाँको तीन कविता:-

 

समयको विद्रोह रूप रसाइली


किन भत्किनु पर्‍थ्यो र हरियो पहाड
किन बगाउनु पर्‍थ्यो र नदीले गाउँबस्ती
किन भुइँभरि सुकाउनु पर्‍थ्यो र आरूका गेडाहरू असिनाले
किन उडाउनु पर्‍थ्यो र टहराहरूको खर आँधीले
प्रश्नहरू प्रश्नकै काँधमा चढेर प्रश्न सोधिरहेछन्
अर्थात्,
तिमीलाई खुद प्रकृतिले सिकाउँदै छिन्
समयसँगै विद्रोह गर्न।
पहिरो लगाएर लछारेपछि
कम्जोर ढिस्काहरूलाई भत्काएपछि
र समुद्रलाई तताएर हिउँ बनाएपछिमात्रै
प्रकृतिले दिएको एक सुन्दर उपहार हो सगरमाथा!'
भित्रभित्रै लुकेर नबग्दी हुन् त,
अरूभन्दा फरक कहाँ देखिन्थिन् सेती!
किन त्रसित छन् पोखरेलीहरू सेतीको विद्रोहमा?
विध्वंस मच्चाउन माहिर छन् हावा, पानी र माटो
र त यी नै चीजहरू लोकप्रिय छन् जगत्‌मा।
केही चीज आपसमा मिलेर घुमेपछि निस्किने तत्त्वले शक्ति निर्माण गर्न सक्छ भने
ती के के हुनसक्छन्?
फन् फन् घुमिरहँदा कुन कुराबाट आवाज निस्किन्न र?
हाम्रो शरीरभित्र एक चक्कर लगाउने श्वासको आवाज कत्रो छ?
म चालमा परिवर्तन देख्छु,
हामी भित्रको बिचारको मन्थनले
शक्तिको आभास किन नगराओस्
तर,
तिमीले बिचारको स्तम्भ उभ्याएर
चलिरहेको मेरो धड्कनलाई टक्क रोक्न नखोज,
किनकि
एक दिन स्वतः रोकिनेछ हिँड्दा-हिँड्दै चल्दा-चल्दै।


 सोँच  रूप रसाइली
सोँच्छु, 
जिन्दगी किन 
सोँचे जस्तो भएन भनेर।
छाम्छु अनि हेर्छु, 
सर्ट, पाइन्ट, र कोटको खल्ती सोध्छु 
कहाँ, कता र कति होला अहिले?
निधार भरी चामल छापिदिँदै
बाजे, बा, आमा र आफन्तले 
"सोँचेजस्तो होस्" भनेर दशैंंमा दिएको आशीर्वाद। 
फेरि सोँच्छु, 
के-के सोँच्थे हुँला यदि सोँचे जस्तै हुन्थ्यो भने 
ऊ मेरो होस् या मरेर जाओस्? 
मैले मात्र पाउँ या हराएर जाओस्? 
कतै सोँच्नै पो छाडिदिन्थेँ कि, 
सोँच्दा-सोँच्दा सबैथोक सोँचे जस्तो भए!
मैले जे लेखिरहेको छु उसले भोगिरहेको छ,
मैले जे देखीरहेको छु उसले लेखिरहेको छ।
यहाँ, 
सबथोक एकको नक्कल दोस्रो रहेछ
चरा उडेको नक्कल रहेछ,जहाज उड्नु 
कोइलीले गाएको नक्कल रहेछ, सारंगीले गाउनु 
छैँठीकै लेखको नक्कल रहेछ तिमीले साहित्य लेख्नु। 
मेरो तन भरी र मन भरी छन् 
सोँच्दा- सोँच्दै नलेखिएका कति औँ कविताहरू 
शायद,
ती कविताहरू जस्ता कविता 
यो दुनियाँमा लेखिएकै छैन र लेखिने छैन।
मैले कहिल्यै सोँचिन 
एकदिन सोँच सम्बन्धी यो कविता लेख्छु भनेर।
तर सोँच्न छाडेको छैन 
कतै मैले गलत त बुझिरहेको छैन सोँचको बारे?
फगत् म, 
हरदम सोँचिरहेछु, 
सोँचे जस्तो केही हुँदैन भनेर जान्दा-जान्दै पनि।
किनकी सोँच्दै नसोचीकन पो लेखिँदो रहेछ 'कविता' 
सोँच्दै नसोचीकन पो साटिदो रहेछ 'प्रेम'
सोँच्दै नसोँचीकन पो नासिंदो रहेछ 'जीवन'।

३   दृष्टीहीन् आँखा रूप रसाइली
कवि ज्यू!
हिंड्दैनन् सबै उभिएकाहरू 
जस्तो कि बाहुन डाँडाको अग्लो लाँकुरीको बोट 
कमेरो चौतारीको ठूलो दल्छिन् ढुंगा 
र विलासी चोकको कालो शहीदको शालिक।
पुग्दैनन् सबै हिड्नेहरू गन्तव्यमा-
जस्तो कि 
कुलो समातेर खेततिर लम्केको पानी 
बच्चाहरूले बेलुनको प्यास मेटिरहेको कण्डम
र दशैं आकाशमा नचुँडिएको चंगाको धागो।
उचाइमा उक्लन्छन् हिड्नै नसक्नेहरू पनि-
जस्तो कि जीवन काँडा कि फूलको व्याख्या गर्ने झमक 
या त शिरिषको फूल फुलाउने पारिजात 
या त सालैजोमा छहरा पहरा गुन्जिने खड्ग गर्वुजा। 
चाहिन्छ केवल धैर्यता बगिरहने एक टुक्रा मुटु
शाहस जुर्मुराइरहने आँटिलो मन 
लक्ष्य कुत्कुताइरहने वैसाखी बेरिएको खुट्टा 
र पुग्न पर्ने ठाउँमा पुग्नको लागि एकनास हेरिरहने दृष्टीहीन् आँखा।

Leave a Reply