प्रवेश परीक्षाबिनै एमबीबीएस पढाइ

0
57

धनुषा — जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।

एमबीबीएस पढ्न नेपाल आउने विदेशी विद्यार्थी तथा विदेश जाने नेपाली विद्यार्थीले प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने प्रावधान छ । तर ३४ भारतीय विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन् ।
‘जानकीमा एमबीबीएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र हामीसँग छ, बाँकी विद्यार्थी हामी चिन्दैनौं : डा. जगदीशप्रसाद अग्रवाल, आईओएम डिन

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा विदेश जाने नेपाली विद्यार्थीले आईओएमले लिने प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने प्रावधान छ । तर ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन् ।

कलेजले प्रक्रिया मिचेर उनीहरूको भर्ना लिएकोमा आईओएमले पुस ५ देखि हुने एमबीबीएस पहिलो वर्षको परीक्षाबाट वञ्चित गरेको छ । जानकी मेडिकल कलेजले एमबीबीएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आईओएमलाई पठाएको थियो ।

‘जानकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र हामीसँग छ,’ आईओएमका डिन डा. जगदीशप्रसाद अग्रवालले कान्तिपुरसँग भने, ‘बाँकी विद्यार्थीलाई हामी चिनेका छैनौं ।’ जानकी मेडिकल कलेजका कार्यकारी प्रमुख धनध्वज मल्ल ठकुरीले परीक्षाका लागि पठाइएका ८० विद्यार्थीको फर्ममध्ये ३४ जनाको अस्वीकृत भएको स्विकारे । कलेजको एमबीबीएसको यो १३ औं ब्याच हो ।

‘एमबीबीएसमा अध्ययनरत ३४ भारतीय विद्यार्थीको परीक्षा अन्योलमा परेको छ,’ कलेजका कार्यकारी प्रमुख ठकुरीले भने, ‘भारतीय विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अदालतमा हालेको रिट पनि खारेज भएको छ । तर पनि उनीहरूलाई परीक्षामा सहभागी गराउने प्रयास भइरहेको छ ।’

आईओएमको प्रवेश परीक्षा नदिएर एमबीबीएसमा भर्ना भएका ३४ जना भारतीय विद्यार्थीलाई पहिलो वर्षको परीक्षामा सामेल गराउन कलेजले एउटा पुरानो नजिर टेक्दै उच्च अदालत, पाटनमा रिट दिएको थियो ।

तर, साताअघि अदालतले कलेजको रिट खारेज गरिदिएको छ । वीरगन्जको नेसनल मेडिकल कलेजले गत र यसवर्ष पनि भारतीय विद्यार्थीलाई परीक्षामा सहभागि गराउने उच्च अदालत, वीरगन्ज इजलासबाट स्टेअर्डर लिएका छन् । नेसनल मेडिकल कलेजले भारतमा एमबीबीएसको क्वालिफाइड परीक्षामा सामेल भएका विद्यार्थीलाई भर्ना लिएको दलिल अदालतमा पेस गरेको थियो ।

जानकी मेडिकल कलेजले परीक्षाबाट वञ्चित भारतीय विद्यार्थीलाई अघिल्लो सञ्चालक समितिले भर्ना गरेको दाबी गरेको छ । कर्मचारीको आन्दोलन र व्यवस्थापकीय किचलोले कलेज स्थापनाको १४ वर्षमा ६ सञ्चालक फेरिएका छन् । असारदेखि कलेजको एकल स्वामित्व ओपी पाण्डेले सम्हालेका छन् । भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, पञ्जाव, नयाँदिल्ली, गुजरात र राजस्थानका ३४ भारतीय विद्यार्थी मोटो रकम दिएर जानकी मेडिकल कलेज भर्ना भएका थिए ।

स्रोतका अनुसार भारतीय एक विद्यार्थीले करिब ५० लाख रुपैयाँ एमबीबीएस भर्नामा खर्चेका छन् । कलेजले ३४ विद्यार्थीसँग १७ करोड रुपैयाँभन्दा बढी असुलेको छ ।

‘भारतीय कन्सल्टेन्सीमार्फत उनीहरू एमबीबीएस भर्ना भएका हुन्,’ स्रोतले भन्यो, ‘भारतीय विद्यार्थीहरूको धेरै कागज प्रस्ट छैन । बुकिङ मात्रै रेकर्डमा देखिन्छ । त्यसैले उनीहरू बिचल्लीमा परे ।’ कलेजका कार्यकारी प्रमुख ठकुरीले भने आईओएमको सर्त र भर्ना शुल्ककै सीमा रहेर भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना लिएको दाबी गरे ।

भारतमा एमबीबीएसको क्वालिफाइड परीक्षा दिएका ३४ भारतीय विद्यार्थी परीक्षामा सामेल हुन फेरि अदालत पुग्ने बताउँछन् ।

नाम नलेख्न आग्रह गर्दै एक भारतीय विद्यार्थीले भने, ‘हामीजस्तै प्रक्रियाबाट नेसनल मेडिकल कलेजमा भर्ना हुनेले परीक्षामा सामेल हुन पाउने, हामीचाहिँ नपाउने ?’ जानकी मेडिकल कलेजको १४ औं ब्याचमा आईओएमले ८० विद्यार्थीको सिट संख्या कटौती गरेर ५० मा झारेको छ ।कान्तिपु्र दैनिकबाट

Leave a Reply