Jeevan Khatri

रामेछापका कवि जीवन खत्री वैदेशिक रोजगारका लागि विगत ५ वर्षदेखि कोरियामा रहँदै आएका छन् ।

मधुवन साहित्यिक प्रतिष्ठानको संस्थापक अध्यक्ष समेत रहेका कवि खत्रीका दुई गजलसंग्रहहरू ‘मेरो शिखर टाढा छ’ (२०६५)  र ‘जीवन कसका लागि’ (२०६९) प्रकाशित छन् ! साथै पुषमा युरेसिया प्रकाशनबाट उनको पहिलो कवितासंग्रह ‘आगोको वर्णमाला’ प्रकाशित हुँदै छ ।

 

मेरा गजलहरु सुनेकै भरमा

बम बनाउनेले फूल बनाए

प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको संक्षिप्त अंश:-

नेपाली साहित्यमा कलम चलाउनेहरुको कुल सङ्ख्यालाई आधार मानि हेर्दा  मुलत: गजल लेखनमा रमाइरहेको पाउछौं  । यसो किन भैरहेको होला ? तपाईं गजल लेखनमा रमाउनुको कारण के हो ?

गजल गेयात्मक, छोटो, सटिक तर बौद्धिक विधा हो । सेर सेरमा फरक मज्जा लिन सकिने । छोटो बसाईमै सुन्न र पढ्न सकिने विधा भएकाले पनि गजलबाट आनन्द लिन सकिन्छ । गजलको  निश्चित नियम पूरा गरेपछि लेख्न मिल्ने भएकाले नयाँहरूको पनि यसप्रति उतिकै आकर्षण देखिन्छ ।

मेरो हकमा भन्नुपर्दा म गजलबाट साहित्यमा प्रवेश गरेको हूँ । म अरू केही विधामा पनि कलम चलाउँछु । तर अरू विधाको स्वाद फरक छ, गजलको स्वाद फरक छ ।

एउटा काव्य तब सफल हुन्छ जब युग बाच्छ । तपाईंको विचारमा, त्यस्तो तत्वहरु केके हुनसक्छनजसले एउटा गजल युगान्तकारी बनाउँछ ?

यो प्रश्न मेरा लागि निकै भारी भयो । म गजल सिक्दै गरेको सामान्य विद्दार्थी हूँ । मेरा दुई गजल सङ्ग्रह प्रकाशित भए, ‘मेरो शिखर टाढा छ’(२०६५)  र ‘जीवन कसका लागि’(२०६९) । गजल यात्रामा यहाँ सम्म आईपुग्दा मलाई लाग्दैन् कि मेरा गजलहरू युगान्तकारी छन् । मलाई ठूला कुरा गरेर झुट बोल्न आउन्न, गजल के भयो भने युगान्तकारी हुन्छ भन्ने चेत मसँग छैन् । यदि हुन्थ्यो भने म युगान्तकारी गजल लेख्थेँ नि पहिले । (हाहाहा….)

तर हामीले बाँचेको यथार्थलाई कलाको लेप लगाएर लेखिरहनु पर्छ । व्यापार वा चर्चाको पछि हिँड्न थालियो भने गजल नलेखिन सक्छ ।

मोतिरामले नेपालमा भित्र्याएको गजल केही समय हरायो । ४० को दशकपछि फेरि प्राण भरेको गजल ६०को दशकमा आएर धुम मच्चायो । त्यो बेला बाढी बग्यो । स्मरण रहोस् बाढ‌ीमा फूल पनि बग्छ र पात र काँडा पनि बग्छ । ७०को दशकमा गजल थिग्रिदैँ छ ।

आजभन्दा 160/165 वर्ष अगि मुगलकालिन भारतका शायर आजम गालिबले “म अहिले जे लेख्न खोजिरहेको छु, त्यो लेख्न सक्तिँन । भविष्यका गजलकारहरुले लेख्नेछन, र समाजले पनि त्यसलाई ग्रहण गर्नेछ ।”, भनेका थिए । यस अभिव्यक्तीको आसय मुलत: के भने के नेपाली समकालीन गजलकारहरुले के त्यसो गरिरहेका छन त? अनि  नेपाली समाजले पनि समकालीन गजल(साहित्य)लाई सहजै ग्रहण गरिरहेको छ त ?

गालिबले भनेको कुरा सत्य हो जस्तो किन पनि लाग्छ भने मसँग पनि अनेकन भावहरू आउँछन् जसलाई म लेख्न सक्दिन् । सकेको छैन् । उनले भनेको भविष्य कुन बेला भनेर यकिन गर्न सकिन्न । यो पृथ्विको आयु सकिएसँगै उनले भविष्य भन्ने शब्दको अर्थ पनि सकिन सक्छ । गजल निरन्तर लेखिईरहेको छ । गजलकारहरूमा निखारता बढिरहेको छ । तर आजभन्दा पाँच वर्ष पछिका गजलहरू छन्, सुन्दर हुन सक्लान् । गालिबले भनेको कुरा त पछि पनि मेल खान गयो नि ।

सत्य हो, मोतिरामले नेपालमा भित्र्याएको गजल केही समय हरायो । ४० को दशकपछि फेरि प्राण भरेको गजल ६०को दशकमा आएर धुम मच्चायो । त्यो बेला बाढी बग्यो । स्मरण रहोस् बाढ‌ीमा फूल पनि बग्छ र पात र काँडा पनि बग्छ । ७०को दशकमा गजल थिग्रिदैँ छ । आशा गरौँ नेपाली गजलको भविष्य अझ सुन्दर हुनेछ । जब सुन्दर हुनेछ, समाजले ग्रहण गर्नेछ । जब समाजले ग्रहण तब गजल साँच्चैको गजल र सुन्दर हुनेछ ।

हामीले बाँचेको यथार्थलाई कलाको लेप लगाएर लेखिरहनु पर्छ । व्यापार वा चर्चाको पछि हिँड्न थालियो भने गजल नलेखिन सक्छ ।

प्रस्तुत छ उहाँको तीन गजल:


मन्दिर बनाउनेले स्कुल बनाए

जाती हुन्थ्यो नदीमा पुल बनाए

 

मेरा गजलहरु सुनेकै भरमा

बम बनाउनेले फूल बनाए

 

को भन्छ? नेताले केही बनाएनन्

बनाए, युवालाई फजुल बनाए

 

विचरा! नातिले अझै भन्न सकेन

बाजेले लिएको ऋण असुल बनाएँ

 

मान्छेभित्र साँच्चै मान्छे हुन्छ भने

किन ताल्चा चाबी चुकुल बनाए?


 

आफुले आँफैलाई हरायो

अनि बाँच्नुको अर्थ बनायो

 

कवि बनेर बैज्ञानिकले

ढुङ्गा पगाल्यो, आगो जमायो

 

पागल रहेछ त्यो चालक

आफु मरेर, यात्रु बचायो

 

जङ्गलमा मन्दिर बनाएर

पापीलेपनि युक्ती लगायो

 

बा-आमाले स्कुल पठाए

छोराले वृद्धाश्रम पठायो


केही न केही त पहिले सोच्नुपर्थ्यो

अरुले नसोचे तिमीले सोच्नुपर्थ्यो

 

कहाँ छ बञ्जर? कहाँ छन् प्यासीहरु

पर्नु अगाडिनै पानीले सोच्नुपर्थ्यो

 

एकैक्षण आफू जालको माछी बनेर

सधैँ जाल हान्ने माझीले सोच्नुपर्थ्यो

 

अध्याँरो सधैँ दीप्ति छरिरहँदा

आँफै मुनिको कालो बत्तीले सोच्नुपर्थ्यो

 

सोच्नुपर्थ्यो केही बिरामी ‘मदन’ले

किन साथ छाडे, साथीले सोच्नुपर्थ्यो

Jeevan Khatri

Leave a Reply