जन्ममिती २०४३ साल जेष्ठ १० गते पालुङ्टार -९, पाण्डे बेशी, गोरखामा पिता देवनिधि पाण्डे र माता शान्ता पाण्डेको जेठो छोराको रुपमा जन्मनुभएको प्रदिप रोदनको वास्तविक नाम प्रदिप पाण्डे हो ।

प्रदिप रोदन

गोरखा क्याम्पसबाट स्नातकसम्मको अध्धयन गरेका रोदन मुलत: अहिले शिक्षण पेशामा आवद्द छन् । नेपाली साहित्य क्षेत्रमा विशेष रुची राख्ने रोदनको नेपालि गजल क्षेत्रमा प्रस्ट अनुहार भेट्न सकिन्छ ।

आफ्नो खुट्टामा उभिएपछि थाहा हुन्छ बा को उचाई,

काँधको छोरालाई बा आफू भन्दा होचो जस्तो लाग्छ !

 

 

 

 

 

उहाँसँग गरिएको कुराकानीको अंश:-

मोतिराम भट्टबाट सुरु भएको नेपाली गजलको भविष्यलाई यहाँका गजलहरुले कुन भविष्य तिर दिशानिर्देश गरिरहेको छ ? यहाँको गजलको मौलिकता के हो झै लाग्दछ?

नेपाली गजलको सुरुवात बलियो हो, उहि गतिले दौडन सकेन तर दौडिरहेको छ । म केवल एक गजल प्रेमी हुँ, हर प्रेमीले आफ्नो प्रेमको सफलता चाहानुपर्छ, चाहान्छु । गजल मेरो प्रेम हो ।

म दु:ख लेख्न अलि बढी मन पराउँछु । आफ्नै जीवन र जीवन छेउछाउको जीवन नै मेरो गजलको मौलिकता हो ।

 

आजभन्दा १६०/१६५वर्ष अगि मुगलकालिन भारतका शायर आजम गालिबले “ अहिले जे लेख्न खोजिरहेको छु, त्यो लेख्न सक्तिँन भविष्यका गजलकारहरुले लेख्नेछन, समाजले पनि त्यसलाई ग्रहण गर्नेछ ।”, भनेका थिए यस अभिव्यक्तीको आसय मुलतः के भने के नेपाली समकालीन गजलकारहरुले त्यसो गरिरहेका छन ? र,  फेरी नेपाली समाज( वा साहित्य जगत)ले त्यसलाई सहजै ग्रहण गरिरहेको अवस्था त ?

समकालीन अवस्थालाई नियाल्दा नेपाली गजलमा अहिले बाढी नै आएको छ । बाढीले लाभ कम र नैराश्यता बढी ल्याउँछ , यसैकारण पनि होला अहिले नेपालमा राम्रा गजल लेख्नेहरुमा नैराश्यता थपिएको।  हामिलाई धमिलो भएर पनि ठूलो हुनैपर्छ भन्ने मान्यताले गाँजेको छ । केही छन्, जो निरन्तर बगिरहेका छन् ।

सयौं रित्तो कोखहरु गाउँ तिरै छन्,

तिम्रो गल्लीमा केवल एउटा सालिक छ !

भविष्य लेख्नु सजिलो विषय होइन, लेख्ने प्रयास हुन जरुरी छ र त्यस्ता केहि कलमहरु देखिरहेको पनि छु, जो तपाइले भने जस्तै गजलमार्फत समाजलाई एउटा भविष्य तिर लग्दै छन् ।

 

ग्रहण गर्नका लागि आफ्नोपन हुन जरुरी छ । आफ्नोपन हामीले लेख्नुपर्छ, समाजले खुसीखुसी स्विकार्छ ।

 

 

एउटा रचना तब सफल हुन्छ जब युग बाच्छ तपाईंको विचारमा त्यस्तो तत्वहरु के हुन सक्छन्, जसले एउटा गजललाई युगान्तकारी बनाउँछ ?

शरीरको आयु जो पनि बाँच्छ । भावनाको आयु पनि अवास्था हेरेर हुन्छ ।  विचारहरु हुन् जो विशेष अबस्था भन्दा बाहेक पनि बाँचिरहन्छन् । विचारहरु बाझिनु हुँदैन -अकाट्य हुनुपर्छ । भावना एक युग बाँच्छ, बिचार युगौ बाँच्छ । हामी भावना लेखिरहेका छौ । यदि हामीले भावनाभित्र पनि बिचार अटाउन सक्यौ भने त्यो सिर्जना युगान्तकारी हुनेछ ।

अर्को कुरा प्रलयको आयु कम हुन्छ लयले हो संसार चल्ने ।  हामीले गजलमा त्यही शाश्वत लय समातेर लेख्न सक्यौं  भने एउटा गजल पक्कै  युगान्तकारी हुन्छ ।

 

प्रस्तुत उहाँको तीन गजलहरु:-

“म केवल एक गजल प्रेमी हुँ, हर प्रेमीले आफ्नो प्रेमको सफलता चाहानुपर्छ, चाहान्छु । गजल मेरो प्रेम हो ।”

फर्कियौ यहाँ सम्म साथ दियौ ठिक छ!

अब त धेरै टाढा छैन घाट पनि नजिक छ!

 

 

सयौं रित्तो कोखहरु गाउँ तिरै छन्,

तिम्रो गल्लीमा केवल एउटा सालिक छ!

 

मेलाको खाजाले आमाको पेट पोलिरह्यो,

टाँडको साँचो सानो छोराले कसरी झिक्छ!

 

मायाकै आडमा त हो घात हुने भनेको,

जस्तो नदी छेउको पसलमा बल्छी बिक्छ!

 

नधकेली दुश्मन किनारको बाटो लाग्यो,

ऊ फेरि डरायो कतै यसले पौडिन सिक्छ!

 


 

ठूलेकी आमा मेरो आँखाले भर पाउन्न हो जस्तो लाग्छ!

हेर त ऊ पर बाट आउँदै गरेको हाम्रै छोरो जस्तो लाग्छ!

 

अहिले तिम्रो तस्विर अगाडि राखेर रोइरहेको छु,

पछाडी रुमाल राखेर हाँसेकी थियौ हिजो जस्तो लाग्छ!

 

ठिक छ चोट खानका लागि भगवानले मलाई छान्यो,

त्यही काँटी छान्छ कर्मिले जुन सोझो जस्तो लाग्छ!

 

परेको बेला आफैलाई काम लागेन आफ्नो क्षमता,

जिन्दगी हेर्छु दमकल स्वयं जलिरहेको जस्तो लाग्छ!

 

आफ्नो खुट्टामा उभिएपछि थाहा हुन्छ बा को उचाई,

काँधको छोरालाई बा आफू भन्दा होचो जस्तो लाग्छ!

 


 

पछि छाती टेकेर हिँड्छ मुटु जलाएर हिँडछ!

यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिँड्छ!

 

कसको लागि किनेथ्यो सम्झिन नसके पछि,

एक प्रेमी अचेल आफै पोते लाएर हिँड्छ!

 

यो सानो अनाथ बालक को पर्छ यो शहरको,

कुन प्रेमले दुनियाँको जुठो खाएर हिँड्छ!

 

हिजोसम्म छोइन्छ भन्दै हिँड्थ्यो गाउँको मुखिया,

आमा किन ऊ अचेल मलाई सुमसुमाएर हिँड्छ!

 

देशको झन्डा च्यातिएको देखिन्छ पृष्ठभूमिमा,

एक जोर जुत्ता रातो कार्पेट ओछ्याएर हिँड्छ!

प्रदिप रोदन

 

 

Leave a Reply